नेपाल चीन सम्बन्धका चुनौति र अवसर
2024-03-22 17:45:10cri
Share with:

बेइजिङस्थित नेपाली दूताबासले नेपाल चीन सम्बन्धका चुनौती र अवसर शीर्षकमा एक गोष्ठीको आयोजना गरेको छ। मार्च २२ तारिख शुक्रबार नेपाली दूताबासको सभाकक्षमा आयोजित कार्यक्रममा मुख्य वक्ताका रुपमा चीनका लागि पूर्व नेपाली राजदूत लीलामणि पौड्यालले विभिन्न कोणबाट नेपाल र चीनबीचको सम्बन्धमाथि प्रकाश पार्नुभयो। नेपालमा चिनियाँ लगानी, पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकको भूमिका, नेपालको पूर्वाधार  विकासमा चीनको योगदान आदि विषयको व्याख्या गर्दै सन् २०१९ मा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धले नयाँ उचाइ प्राप्त गरेको बताउनुभयो।

लीलामणि पौड्यालले सन् २०१६ देखि सन् २०२० सम्म चीनका लागि नेपाली राजदूत हुनुहुन्थ्यो। नेपाल सरकारका पूर्व मुख्य सचिव पौड्याल सन् २००३ देखि २००७ सम्म तिब्बतका लागि नेपाली महावाणिज्यदूतका रुपमा कार्यरत हुनुहुन्थ्यो। उहाँसँग चीनका बारेमा लामो कूटनीतिक अनुभव रहेको छ।

कार्यक्रममा चीनका विभिन्न विश्वविद्यालयहरुमा कार्यरत प्राध्यापकहरुले नेपाल र चीनबीचको सम्बन्धमा आफ्ना अनुभव र भविष्यमाथि चर्चा गरेका छन्। उनीहरुले नेपालको प्रकृति, सौन्दर्य, समाज, सँस्कृतिसँगै चिनियाँ लगानीका लागि सर्वोत्कृष्ट वातावरण रहेको बताएका छन्।

कार्यक्रममा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र दूताबासका मिनिस्टर सुरेन्द्र यादवले पनि कार्यक्रममाथि प्रकाश पार्नु भएको थियो।