पुनर्निर्माण हुँदै चन्द्र नहर
2024-03-22 16:17:35cri
Share with:

मर्मतसम्भारको अभावमा जीर्ण रहेको नेपालकै सबैभन्दा पुरानो चन्द्र नहरको पुनर्निर्माण सुरु भएको छ। जापान सरकारले नेपाल सरकारलाई चन्द्र नहर पुनर्निर्माणका लागि दुई अर्ब आर्थिक सहयोग गरेपछि मर्मतसम्भार सुरु भएको हो। चन्द्र नहरअन्तर्गत  कञ्चनरुप नगरपालिका– १० स्थित बदगामा र तिरहुत गाउँपालिकाको बुधेवामा मर्मतसम्भार थालिएको चन्द्र नहर सिँचाइ प्रणाली जल उपभोक्ता संस्थाका अध्यक्ष बद्रीनारायण यादवले बताउनु भएको राष्ट्रिय समाचार समितिले लेखेको छ।

चन्द्रनहरअन्तर्गत सप्तरीको सप्तकोशी नगरपालिकाको फतेपुरदेखि महादेवा गाउँपालिका पकरीस्थित खाँडो खोलासम्म तत्काल ३२ वटा नयाँ ‘साइफन’ पुनर्निर्माण गर्ने गरी काम थालिएको उहाँले बताउनुभयो। मर्मतको काम जापानी कम्पनी हाज्माले पाएको छ।

आगामी  दुई वर्षभित्रमा मर्मतसम्भारका सबै पूरा गर्नुपर्ने सम्झौता भएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले ३१ किलोमिटर नहरको सुरु विन्दुदेखि अन्त्यसम्मको ३२ वटा नयाँ पुल र साइफन निर्माण गर्न हाज्मासँग सम्झौता गरेको अध्यक्ष यादवले बताउनुभयो।

बर्खायाममा बाढीबाट विभिन्न ठाउँमा बर्सेनि नहर भत्किएका कारण मर्मत गर्नुपरेको हो। समयमा मर्मत समयमा नहुँदा सिँचाइ सुविधाबाट किसान बञ्चित भएका थिए। २०७३ को बाढीले सुब्बाटोल, बुधेवा, महुली, गङ्गाजली, मैनाकडेरी, बढहरालगायत एक दर्जन स्थानमा नहर भत्किएको थियो । नहर मर्मतका लागि अहिलेसम्म नौ करोड खर्च गरिएको कोशी पम्प चन्द्र नहर डिभिजन कार्यालय सप्तरीले जनाएको छ।

जिल्लाको पूर्वी भेग तोपा, मन्सापुर, भगवतपुर, अकवरपुर, महादेवा, सोनरा, पकरी, कजौली, बथनाहा, इनर्वा, भारदह, चक्ला, विषहरिया, गाउँमा चन्द्र नहरको आशामा हजारौँ हेक्टर जग्गामा गहुँ र धान खेती लगाउने गरेकोमा प्रत्येक हिउँद र बर्खामा पानी नपाएका कारण किसानले चर्को मूल्यमा डिजल तथा विद्युतीय प्रणालीबाट सिँचाइ व्यवस्था मिलाउन बाध्य रहेको महदेवा गाउँपालिका पकरीका किसान महेन्द्रप्रसाद यादवले बताउनुभयो।

चन्द्रनहरको सञ्जाल फराकिलो रहेको भए पनि विगत ३० वर्षदेखि उक्त नहरमा खेतीको समयमा पानी नआएका कारण ‘स्यालो ट्युबवेल’ तथा आकाशे पानीका भरमा यस क्षेत्रका किसानले खेती गर्दै आएका थिए। –