१९ राजदूत र ४५ वाणिज्यदूतले लुम्बिनीबाट गरे विश्व शान्तिको आह्वान
2024-03-25 16:15:14cri
Share with:

विश्वका १९ मुलुकका राजदूत र नेपालका लागि ४५ देशका वाणिज्यदूतहरुले शुक्रबार गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट समृद्धिका लागि विश्वशान्तिको आह्वान गरेका छन्। परराष्ट्र मन्त्रालय र अवैतनिक वाणिज्य दूतहरुको संस्था अनररी कन्सुलर कर्प्स नेपाल (एचसीसीएन)ले संयुक्त रुपमा आयोजना गरेको लुम्बिनी कन्क्लेभमा उनीहरुले शान्ति विना समृद्धि सम्भव नहुने भन्दै विश्वशान्तिको आह्वान गरेका हुन् ।

विभिन्न देशबाट नेपाल आएका राजदूतहरुले लुम्बिनी परिसरमा विश्व शान्तिका लागि प्रार्थना समेत गरे। कार्यक्रममा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विकासलाई अगाडि बढाउन शान्ति आवश्यक रहेको बताउनुभयो। उहाँले वर्तमान समयमा बुद्धका सन्देशको महत्व झन् बढेको बताउनुभयो। ‘भगवान बुद्धको उपदेश बुद्ध धर्म मान्नेहरुका लागि मात्र होइन सबै धर्म मान्नेका लागि उत्तिकै उपयोगी छ’, उहाँले भन्नुभयो।

उपप्रधानमन्त्री श्रेष्ठले नेपालमा लगानी गर्न पनि आह्वान गर्नुभयो। सरकार परिवर्तन हुनु भनेको नीति परिवर्तन हुनु नभएको भन्दै सबै राजदूत र कुटनीतिज्ञहरुलाई आ आफ्नो देशमा नेपाल लगानीको राम्रो गन्तव्य भएको सन्देश फैलाउन आग्रह गर्नुभयो।

लुम्बिनी कन्क्लेभमा चर्चित कलाकार उजय बज्राचार्यको कला प्रदर्शनी र अन्य आर्थिक विषयवस्तुमा विचार गोष्ठी पनि भएको थियो । सम्मेलनको दोस्रो दिनको पहिलो सत्रमा नेपाल लगानी बोर्डका उपसचिव रमेश अधिकारीले नेपालमा रहेका लगानीका अवसर र आसन्न लगानी सम्मेलनका बारेमा जानकारी गराएका थिए।

नेपाल पर्यटन बोर्डका निर्देशक सन्तोष पन्तले नेपालमा पर्यटनको असीमित सम्भावना र लुम्विनीको पर्यटकीय महत्वको बारेमा प्रस्तुती गरेका थिए।