पोखरामा सुरु भयो चीनको ड्रागन बोट फेस्टिभल
2024-03-25 16:11:05cri
Share with:

पोखराको दोस्रो ठुलो ताल बेगनासमा आज (आइतबार) देखि ड्रागन बोट रेस फेस्टिभल सुरु भएको छ। नेपाल ड्रागन बोट संघ गण्डकी प्रदेश, पोखरा महानगरपालिका र होटल तथा रेस्टुरेन्ट एसोसियसन लेखनाथको संयुक्त आयोजनामा दुई दिने फेस्टिभल सुरु भएको हो। प्रतियोगितामा १४ टिमको सहभागिता छ।

महोत्सवको युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले उद्घाटन गर्नुभयो। उहाँले खेलकुद क्षेत्र कूटनीतिक सम्बन्ध विस्तारको माध्यम बन्दै गएको भन्दै नेपालले यसको उपयोग गर्न सक्नुपर्ने बताउनुभयो। खेल क्षेत्रलाई पर्यटनसँग जोड्दै विकासको माध्यम बनाउनुपर्ने उहाँको तर्क छ ।

चीनबाट सुरु भएको ड्रागन बोट रेस दक्षिण एसियामा अघिल्लो वर्षदेखि छिरेको छ । अघिल्लो वर्ष पोखराको फेवातालमा नेपाल र चीनका खेलाडीबिच प्रतिस्पर्धा भएको थियो । प्रतियोगिताकै लागि १ सय २० सदस्यीय टोली चीनबाट पोखरा आएको थियो । प्रत्येक टिममा १२ जना खेलाडी सहभागी हुन्छन् ।

यसपालि १४ टिमबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा ५ सय र २ सय मिटर गरी दुई स्पर्धा हुनेछ । आइतबार २ सय मिटर तर्फको प्रतिस्पर्धा सकिएको छ । नारा पोखरा उक्त इभेण्टमा पहिलो हुँदै एक लाख नगद जितेको छ । वाटर स्पोर्टस् एसोसियसनले दोस्रो बनेर ५० हजार पाएको छ भने हर्पन मत्स्य समूह तेस्रो हुँदै २५ हजार पायो ।

सोमबार हुने पाँच सय मिटरतर्फको प्रतिस्पर्धामा प्रथम हुनेले २ लाख, दोस्रोले १ लाख ५० हजार र तेस्रोले ७५ हजार नगद पाउने रातोपाटी अनलाइनले जनाएको छ।