हिमाल आरोहणका लागि धमाधम अनुमति लिंदै
2024-03-26 15:31:42cri
Share with:

वसन्त ऋतुमा हिमाल आरोहण गर्न आरोहीहरूले पर्यटन विभागबाट धमाधम अनुमति लिन थालेका छन्। मार्च पहिलो हप्ताबाट आरोहण अनुमति दिन थालेको विभागले हालसम्म पाँचवटा हिमाल आरोहण गर्ने अनुमति दिइसकेको छ।

साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरूङका अनुसार विश्वको सर्वोच्च हिमाल सगरमाथा, अमादब्लम, हिमालुङ, जुगल र अन्नपूर्ण हिमालका लागि विभागले आरोहीलाई अनुमति दिएको हो। ‘वसन्त ऋतुका लागि हिमाल चढ्न अनुमति लिनेहरू धमाधम आइरहेका छन्’, निर्देशक गुरूङले भन्नुभयो, ‘अहिलेसम्म पाँच हिमालका लागि अनुमति दिएका छौं।’

वसन्त ऋतु सुरु भएसँगै विभागले हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरेको हो। विभागले हाल सगरमाथा अमादब्लम, हिमलुङ, जुगल र अन्नपूर्ण हिमाल गरी पाँच वटा हिमाल आरोहणको लागि आरोहीहरूलाई अनुमति दिइसकेको छ। हालसम्म २२ देशका ४१ आरोहीले विभागबाट आरोहण अनुमति पाएका छन्।

यसै क्रममा विभागले हालसम्म सबैभन्दा धेरै अनुमति अन्नपूर्ण हिमाल आरोहणका लागि दिएको छ। जसमा दुई समूहबाट १४ जना पुरूष र १० जना महिला गरी जम्मा २४ जना आरोहीले अनुमति लिएका छन्।

यस्तै सगरमाथा हिमालका लागि एक समूहका आठ जना आरोहीले विभागबाट अनुमति लिएका छन् । यसै क्रममा हिमालुङ हिमालका लागि एक समूहबाट तीन महिला र दुई पुरूष गरी पाँच आरोहीले विभागबाट अनुमति लिएका छन्। क्रमशः अमादब्लम आरोहणका लागि एक समूहबाट ३ पुरूष, जुगल हिमाल आरोहणका लागि एक समूहबाट एक महिलाले अनुमति लिएको नागरिकन्यूज डटकमले जनाएको छ।

विभागको तथ्यांक अनुसार हालसम्म अनुमति लिने २२ देशमध्ये अमेरिकाका आरोहीको संख्या पहिलो नम्बरमा छ। अमेरिकाका सात जना आरोहीले विभागबाट हिमाल आरोहणका लागि अनुमति लिएका हुन्। अमेरिकापछि अष्ट्रेलियाबाट पाँच आरोहीले आरोहण अनुमति लिएका छन्। त्यसपछि भने स्पेन र युक्रेनबाट तीनतीन जनाले आरोहण अनुमति लिएका छन्। यसैगरी बेलायत, रोमानिया, जर्मनी र फ्रान्सका दुईदुई जना र बाँकी मुलुकबाट एकएक जना आरोहीले हालसम्म विभागबाट आरोहण अनुमति लिएका छन्।

सगरमाथा आरोहणका लागि वसन्त ऋतु सबैभन्दा उपयुक्त मानिन्छ। यस याममा सबैभन्दा धेरै आरोहीले सगरमाथा आरोहण गर्छन्। यसैक्रममा विभागले हिमाल अनुसार आरोहण दस्तुर पनि फरकफरक तोकेको छ।

विभागले विदेशीका लागि सगरमाथा आरोहण गर्न वसन्त ऋतुमा प्रतिव्यक्ति एक हजार एक सय, शरदमा पाँच हजार पाँच सय र अन्य सिजनमा दुई हजार सात सय ५० अमेरिकी डलर दस्तुर तोकेको छ। नेपालीका लागि भने वसन्त ऋतुमा ७५ हजार, शरदमा ३७ हजार पाँच सय र अन्य सिजनमा १८ हजार दुई सय ५० रूपैयाँ प्रतिव्यक्ति शुल्क तोकको छ।

हाल सरकारले जम्मा चार सय पाँच वटा हिमाल खुला गरेको छ। कुल चार सय पाँच हिमालमध्ये २७ हिमालका लागि आरोहण अनुमति नेपाल पर्वतारोही संघले र बाँकी विभागले दिँदै आएको छ।

विभागका शाखा अधिकृत चुनबहादुर तामाङका अनुसार यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि हिमालयन गाइड्स नेपाल ट्रेक्स एन्ड एक्सपिडिसन कम्पनीबाट आठ जनाले विभागबाट अनुमति लिएका छन्।