नेपाली दूताबासद्वारा नेपालमा लगानी सम्बन्धी कार्यशाला गोष्ठीको आयोजना
2024-03-26 16:03:33cri
Share with:

बेइजिङस्थित नेपाली दूताबासले नेपालमा लगानीसम्बन्धी एक कार्यशाला कार्यक्रमको आयोजना गरेको छ। आगामी महिना नेपालमा हुने लगानी सम्मेलनको पूर्वसन्ध्यामा मार्च २६ तारिख मङ्गलबार पूर्वलगानी सेमिनारका रुपमा उक्त कार्यक्रम आयोजना भएको हो।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै चीन भ्रमणमा रहनु भएका नेपालका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ताहरुलाई आह्वान गर्नुभयो। चिनियाँ लगानीकर्ताका लागि नेपाल उत्कृष्ट स्थल रहेको भन्दै वर्तमान सरकार चिनियाँ लगानीकर्तालाई आवश्यक सुविधा दिन तयार रहेको बताउनुभयो।

कार्यक्रममा नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालका विविध क्षेत्रमा विदेशी लगानी चाहिएको आफ्नो प्रस्तुतिमार्फत प्रष्ट्याउनुभयो। नेपालको पूर्वाधार, पर्यटन, कृषि, सेवा, शिक्षा लगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको भन्दै चिनियाँ लगानीकर्तालाई स्वागत गर्न लगानी बोर्ड तयार रहेको उल्लेख गर्नुभयो।

नेपाल लगानी बोर्डका उपसचिव रमेश अधिकारीले नेपालमा लगानीको अवस्थालाई प्रष्ट्याउने उद्देश्यले श्रव्यदृष्य सामग्री प्रस्तुत गर्नु भएको थियो। कार्यक्रमको अवधिमै नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनको भिडियो सन्देश पनि प्रदर्शन गरियो। उक्त सन्देशमा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न उहाँहरुले आह्वान गर्नु भएको छ।

नेपालमा लगानी गरिरहेका चिनियाँ लगानीकर्ताहरुले आफ्ना अनुभव सुनाउँदै नेपालको लगानी अवस्थाका बारेमा प्रकाश पारेका थिए। चिनियाँ अन्तर्राष्ट्रिय जल तथा विद्युत कम्पनीका नायव महाप्रवन्धक छन मिलीले आफ्नो नेपाल अनुभवका बारेमा विचार व्यक्त गर्नु भएको थियो भने सीसीओआइसीका उपमहासचिव सु लियाङले कार्यक्रममाथि टिप्पणी गर्नु भएको थियो।

एक सयको हाराहारीमा उपस्थिति रहेको उक्त समारोहलाई चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको थियो।

सीएमजी नेपाली सेवाका लागि चेतनाथ आचार्य नेपाली दूतबास बेइजिङ