उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ विदेशमन्त्री वाङबीच बेइजिङमा भेटवार्ता, चिनियाँ लगानीका आयोजनालाई गति दिन जोड
2024-03-27 15:14:40cri
Share with:

नेपालमा निर्माणाधीन आयोजनालाई छिटो कार्यान्वयन गर्न नेपाल र चीनबीच छलफल भएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका विदेशमन्त्री वाङ यी बीच मंगलबार बेइजिङमा भएको भेटवार्तामा नेपालमा चिनियाँ लगानी र सहयोगमा निर्माणाधीन आयोजना छिटो कार्यान्वयन गर्ने सम्बन्धमा जोड दिइएको परराष्ट्र मन्त्रालयले जनाएको हो ।

उपप्रधानमन्त्री श्रेष्ठ र विदेशमन्त्री वाङबीच नेपालले सन् २०१७ मा हस्ताक्षर गरेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) बारे भने सामान्य छलफल मात्र भएको छ । चीनले नेपाललाई बीआरआई कार्यान्वयन योजना सम्झौताका लागि आग्रह गरे पनि हालसम्म अघि बढ्न सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणका दौरान दुवै पक्षले बीआरआईलाई गति दिन प्रतिबद्धता व्यक्त गरेका थिए । साथै दुई पक्षले परामर्श गरी छिट्टै बीआरआई कार्यान्वयन योजनाको प्रस्तावलाई अन्तिम रूप दिनेबारे त्यस बेला जारी संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको थियो ।

भेटमा उपप्रधानमन्त्री श्रेष्ठले बीआरआईका सम्बन्धमा भने नेपालका तर्फबाट धारणा राख्नुभयो। ‘बेल्ट एन्ड रोड इनिसिएटिभ विश्वको विकास र समृद्धिका लागि अनुकूल छ । नेपाल बेल्ट एन्ड रोड संयुक्त रूपमा निर्माणका लागि चीनसँगको सहकार्यलाई सुदृढ गर्न इच्छुक छ,’ उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो । त्यसको जवाफमा विदेशमन्त्री वाङले चीन र नेपालबीचको परम्परागत मित्रतालाई अगाडि बढाउन, दुई पक्षबीचको राजनीतिक आपसी विश्वासलाई सुदृढ गर्न, उच्च गुणस्तरको ‘बेल्ट एन्ड रोड’ संयुक्त रूपमा निर्माण गर्न र आपसी रणनीतिक सहकार्यको साझेदारीलाई प्रवर्द्धन गर्न चीन नेपालसँग काम गर्न इच्छुक रहेको बताएको परराष्ट्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्यसमेत रहेका वाङले नेपालमा सरकार पुनर्गठनपछि परराष्ट्रमन्त्रीको चीन भ्रमणले नेपाल–चीन मित्रताको परम्परा र चीनसँगको सहयोगलाई मजबुत बनाउने बताउनुभयो।

‘चीनले नेपाललाई सधैं एक मित्रवत् र रणनीतिक साझेदारका साथै महत्त्वपूर्ण निकट छिमेकीका रूपमा हेरेको छ । सबै नेपालप्रति शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरू पालन गर्दै आएको छ । सधैं ठूला वा साना सबै देशहरू समान हुन जोड दिँदै आएको छ,’ वाङको भनाइलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उहाँले सन् २०१९ मा राष्ट्रपति सी चिनफिङले नेपालको ऐतिहासिक राजकीय भ्रमण गरेको उल्लेख गर्दै त्यसबाट दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको तथा दुई मुलुकको सम्बन्ध द्रुत गतिमा अघि बढेको बताउनुभयो। गत वर्ष प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण पनि निकै सफल रहेको वाङले बताउनुभयो।

उपप्रधानमन्त्री श्रेष्ठले भने नयाँ र उच्चस्तरमा विकास र समृद्धिका लागि दिगो मित्रतामा नेपाल र चीनबीच परम्परागत मित्रता र एकअर्कामाथि निर्भरता रहेको उल्लेख गर्नुभयो । ‘चीनले भूकम्प र महामारीको प्रतिकार्यमा नेपाललाई निःस्वार्थ सहयोग गरेको छ, जसलाई नेपाल सरकार र जनताले सधैं सम्झनेछन्,’ उहाँले बैठकमा भन्नुभयो, ‘नेपालको नयाँ सरकारले चीनसँगको सम्बन्धलाई ठूलो महत्त्व दिएको छ । र, द्विपक्षीय सम्बन्धको विकासको स्तरलाई निरन्तर सुधारका लागि चीनसँग सहकार्य गर्न इच्छुक छ ।’

नेपाल र चीनले यसअघि सहमति भएअनुसार १४ परम्परागत सीमा व्यापार नाका खोल्न तथा व्यापार, लगानी, पर्यटन र अन्य क्षेत्रमा व्यावहारिक सहयोग सुदृढ गर्ने विषयमा फेरि सहमति जनाएका छन् । भेटवार्तामा दुवै पक्षले साझा सरोकारका अन्य विषयमा पनि विचार आदान–प्रदान गरेका थिए । कान्तिपुर अनलाइनका अनुसार बेइजिङस्थित नेपाली राजदूतावासमा मंगलबार उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ लगानीकर्ताहरूलाई आगामी वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा सहभागिताका लागि निम्तो दिनुभयो।