ऊर्जा क्षेत्रमा लगानी बढाउन एसियाली पूर्वाधार लगानी बैङ्क (एआइआइबी) लाई आग्रह
2024-03-27 15:16:01cri
Share with:

नेपाल विद्युत् प्राधिकरणले नेपालको ऊर्जा क्षेत्रलाई अझै गतिशील र तीव्र विकास गर्न विद्युत् पूर्वाधार संरचना सुधार तथा विस्तार कार्यमा लगानी बढाउन एसियाली पूर्वाधार लगानी बैङ्क (एआइआइबी) लाई आग्रह गरेको छ । एआइआइबी सञ्चालक समितिका सदस्य आर. एम. पी. रथनायक नेतृत्वमा नेपाल भ्रमणमा आएको प्रतिनिधिमण्डलसँग सोमबार भएको भेटमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् प्रसारण र वितरणतर्फका पूर्वाधार सुधार तथा विस्तारमा सस्तो ब्याजदरमा लगानी बढाउन आग्रह गर्नुभएको गोरखापत्र अनलाइनले खबर लेखेको छ।

नेपालको ऊर्जा क्षेत्रको रूपरेखा तथा लगानी आवश्यकतासम्बन्धी जानकारी गराउँदै कार्यकारी निर्देशक घिसिङले विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका संरचना निर्माण गर्न ठुलो लगानी आवश्यक रहेको बताउनुभयो । घिसिङले भरपर्दो तथा गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चितता, ऊर्जा सङ्क्रमण तथा दक्षता, विद्युत् निर्यात वृद्धि, मौसमी विद्युत् उत्पादनको असन्तुलन न्यूनीकरणका लागि जलाशययुक्त आयोजनाको निर्माण, वितरण तथा प्रसारण सञ्चाल विस्तार तथा सुधारलगायतका क्षेत्रमा हाल काम भइरहेको एआइआइबीको प्रतिनिधिमण्डललाई जानकारी गराउनुभएको थियो ।

प्रतिनिधिमण्डलले ऊर्जा क्षेत्रका लागि आवश्यक पर्ने लगानी गर्न बैङ्क इच्छुक रहेको बताएको थियो। प्रतिनिधिमण्डलबाट हाल एआइआइबीको लगानीमा निर्माणाधीन आयोजनाहरूको प्रगति, वातावरणीय तथा सामाजिक सुरक्षणका विषयहरू, ऊर्जा क्षेत्रको पुनर्संरचना, विद्युत् निर्यातका लागि बजार सुनिश्चिततालगायतका विषयमा जिज्ञासा राखिएको थियो ।

एआइआइबीले हाल विद्युत् वितरण प्रणाली सुधार तथा विस्तार परियोजना कार्यान्वयनका लागि ११ करोड २३ लाख डलर सहुलियतपूर्ण ऋण नेपाललाई उपलब्ध गराएको छ।