चिनियाँ राष्ट्राध्यक्ष तथा नेदरल्याण्ड्सका प्रधानमन्त्री बीच पैचिङमा भेटघाट
2024-03-27 19:03:56cri
Share with:

मार्च २७ तारिख दिउँसो चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङस्थित जनबृहत सभाभवनमा चीनको भ्रमणमा आउनुभएका नेदरल्याण्ड्सका प्रधानमन्त्री मार्क रूटेसँग भेटघाट गर्नुभएको छ।

भेटमा चिनियाँ राष्ट्राध्यक्ष सीले आपसी सम्बन्धबारे चर्चा गर्दै बितेका वर्षहरूमा चीन र नेदरल्याण्डसबीचको सम्बन्ध निरन्तर र द्रुत गतिमा विकसित भइरहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘विभिन्न क्षेत्रमा दुई देशबीचको सहयोग अझ प्रगाढ हुँदै गइरहेको छ।’

नेदरल्यान्ड्स चीन-ईयू सहयोगका लागि वास्तविक 'गेटवे' बनेको पनि सीले औंल्याउनुभयो। उहाँले भन्नुभयो, ‘आपसी खुला र व्यावहारिक व्यापक सहकारी साझेदारी सम्बन्धको निरन्तर विकासलाई बढाउन चीन नेदरल्याण्ड्ससँग काम गर्न तयार छ। दुवै पक्षले कृषि, जल संरक्षण र ऊर्जा लगायत परम्परागत सहयोगलाई सक्रिय रूपमा अघि बढानुपर्छ र कृत्रिम बुद्धिमत्ता, हरित रूपान्तरण र वृद्धवृद्धा अर्थव्यवस्था जस्ता क्षेत्रमा सहयोगको सम्भाव्यताको दोहन गर्नुपर्छ। जलवायु परिवर्तन र जैविक विविधताजस्ता विश्वव्यापी चुनौतीको संयुक्त सामना गर्न संयुक्त राष्ट्रसङ्घ र विश्व व्यापार सङ्गठनजस्ता बहुपक्षीय संस्थाहरूमा नेदरल्यान्ड्ससँगको सम्पर्क र समन्वयलाई मजबुत बनाउन चीन तत्पर रहेको छ।’

राष्ट्राध्यक्ष सी चिनफिङले चीन-यूरोप सम्बन्धबारे चर्चा गर्दै युरोपप्रति चीनको नीति निरन्तर र स्थिर रहेको बताउनुभयो। नेदरल्यान्ड्सले आपसी समझदारी सम्बन्धलाई बढाउन र चीन-ईयू रचनात्मक सम्बन्धको विकास गर्ने क्रममा सक्रिय भूमिका निर्वाह गरिरहने आशा चीनले व्यक्त गरेको पनि उहाँको भनाइ थियो।

सो अवसरमा नेदरल्याण्ड्सका प्रधानमन्त्री रुटेले पारस्परिक सम्बन्धबारे उल्लेख गर्दै सन् २०१४ मा आपसी खुला र वस्तुगत व्यापक सहकारी साझेदारी सम्बन्धको स्थापना भएयता दुई देशबीचको सम्बन्धको राम्रो विकास रहिरहेको छ र व्यापारको मात्रा दोब्बर भएको बताउनुभयो। उहाँले थप्नुभयो, ‘द्विपक्षीय सहयोगमा ठूलो निहित शक्ति र सम्भावना देखाएको छ। चीनसँगको साझेदारी सम्बन्धलाई अझ प्रगाढ बनाउन, जनता-जनताबीचको आदानप्रदानलाई सहज बनाउन, आर्थिक र व्यापार तथा कार्बन निष्काशन न्यूनीकरणमा हुने सहयोगलाई मजबुत बनाउन नेदरल्याण्ड्स तयार छ।’

उहाँका अनुसार जी-२० लगायत अन्तर्राष्ट्रिय तथा क्षेत्रीय ध्यानाकर्षक मुद्दाहरूमा हुने सम्पर्क र समन्वयलाई घनिष्ठ बनाउने इच्छा पनि व्यक्त गरिएको छ।