नेपालको अन्तर्राष्ट्रिय व्यापारमा चीनको हिस्सा अहिलेसम्मकै धेरै, रसुवा र तातोपानी नाकाबाट लक्ष्यभन्दा धेरै राजस्व
2024-03-27 15:17:56cri
Share with:

उत्तरी छिमेकी चीनसँग नेपालको व्यापार उल्लेख्य बढेको छ। नेपालको अन्तर्राष्ट्रिय व्यापारमा चीनको उपस्थिति अहिलेसम्मकै बलियो स्थितिमा पुगेको छ। चालु वर्षको पहिलो आठ महिना (२०८० साउनदेखि फागुनसम्म) मा समग्र व्यापार २.७८ प्रतिशतले घटेको छ। तर, चीनसँगको व्यापार भने करिब ३५ प्रतिशतले बढेको छ। यो वर्ष चीनसँग स्थलमार्गबाट हुने कारोबार बढेको कारण समग्र व्यापार बढेको भन्सार अधिकारीहरूले बताएका छन्।

गत आर्थिक वर्षको आठ महिनामा चीनसँग नेपालले एक खर्ब ४६ अर्ब रूपैयाँ बराबरको व्यापार गरेको थियो। यो वर्ष भने ५० अर्ब रूपैयाँले बढेर एक खर्ब ९६ अर्ब रूपैयाँ बराबरको भएको छ। गत वर्षको आठ महिनासँग तुलना गर्दा समग्र व्यापारमा निर्यात चार गुणाले बढेको छ भने आयात ३३ प्रतिशतले बढेको छ। गत वर्ष आठ महिनामा एक खर्ब ४५ अर्ब ७८ करोड रूपैयाँ बराबरको सामान चीनबाट आयात भएको थियो भने ५२ करोड रूपैयाँको सामान निर्यात भएको थियो। यो वर्ष भने एक खर्ब ९४ अर्ब रूपैयाँको आयात भएर एक अर्ब ९५ करोड रूपैयाँ बराबरको निर्यात भएको छ।

नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार भारत र अन्य देशहरूसँग पनि यो वर्ष व्यापार घटेकोमा चीनसँग भने आयात र निर्यात दुवै बढेको छ। यी अवधिमा भारतसँग

आयात २.८ र निर्यात ७.७ प्रतिशतले घटेको छ।  २०७२ सालमा भारतले नाकाबन्दी लगाएपछि भारतसँगको व्यापार घटेको कारण समग्र व्यापारमा चीनको हिस्सा बढेको थियो।

सेतोपाटी अनलाइनका अनुसार आर्थिक वर्ष २०७२/७३ मा भएको नेपालको समग्र वस्तु व्यापारमा चीनको हिस्सा १४ प्रतिशत पुगेको थियो। त्यो वर्ष आठ खर्ब ४५ अर्ब रूपैयाँको अन्तर्राष्ट्रिय व्यापार भएकोमा चीनसँग एक खर्ब १७ अर्ब रूपैयाँको भएको थियो। त्यसै वर्ष समग्र व्यापारमा चीनको हिस्सा १४ प्रतिशत पुगेको हो। त्यसपछि आर्थिक वर्ष २०७५/७६ देखि २०७७/७८ सम्मको व्यापारमा पनि चीनको हिस्सा १४ प्रतिशत पुगेको थियो।

वर्ष २०७८/७९ मा नेपालको अन्तर्राष्ट्रिय व्यापार अहिलेसम्मकै उच्च दरमा बढेको थियो। यो वर्ष चीनको हिस्सा भने घटेर १२ प्रतिशतमा झर्‍यो। वर्ष २०७९/८० मा सामान्य बढेर १३ प्रतिशत पुगेको थियो। यो वर्षको आठ महिनाको अवधिमा भएको व्यापारमा चीनको हिस्सा १७ प्रतिशत भएको छ। यो वर्ष साउनदेखि फागुनसम्म ११ खर्ब ३० अर्बको अन्तर्राष्ट्रिय व्यापार भएकोमा चीनसँग करिब दुई खर्ब (एक खर्ब ९५ अर्ब) रूपैयाँको व्यापार भएको छ।

भन्सार विभाग र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रमा उपलब्ध (आर्थिक वर्ष २०६६/६७ देखि २०८०/८१ सम्म) तथ्यांकअनुसार यो वर्ष नेपालको अन्तर्राष्ट्रिय व्यापारमा चीनको हिस्सा सबैभन्दा धेरै पुगेको छ।

यसैबीच नेपालको अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी जानकार तथा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक केशव आचार्य सन् १९९० चीनसँगको अहिलेको व्यापार हिस्सा सबैभन्दा धेरै पुगेको बताउनुहुन्छ। 'सन् १९९० अघि फरक शैलीबाट पनि व्यापार भएको छ, चीनको हिस्सा कतिसम्म पुग्यो भन्ने विषयमा जानकारी छैन। तर त्यसपछिका वर्षहरूमा नेपालको अन्तर्राष्ट्रिय व्यापारमा चीनको हिस्सा १७ प्रतिशतको कहिले पुगेको थिएन,' आचार्यले भन्नुभयो।

आचार्यका अनुसार नेपालको व्यापार गतिविधि पञ्चायतकालीन समयमा निकै बढेको थियो। त्यतिबेला चीनले रणनीतिक रूपमा व्यापार गरेको थियो। नेपाललाई ठूलो मात्रामा सहायताको रूपमा सामान पठाएको थियो। यस्तो सामान नेपालले भारतमा समेत बेच्ने गरेको थियो। खास गरी नेशनल ट्रेडिङलाई कलम, कापी, कपडा, कुटो, कोदालो अनुदानमा उपलब्ध गराउँथ्यो। तर, त्यस्तो सामान बेचेको पैसाले नेपालमा चिनियाँ सहयोगमा परियोजना सञ्चालन गर्‍यो। यसले नेपालमा चीनको सहायता पनि बढ्ने र नेपालले गर्ने स्वतन्त्र व्यापार प्रतिस्पर्धामा पनि असर गर्ने गरेको उहाँले बताउनुभयो।

'चीनले निकै रणनीतिक रूपमा स्वतन्त्र प्रतिस्पर्धात्मक व्यापारको खिलाफमा अचम्मको सहायता विस्तार गर्‍यो, अनुदानमा चीनबाट सामान आउने र त्यस्तो सामान बिक्री गरेको पैसाले नेपालमा चिनियाँ सहयोगका प्रोजेक्टहरूमा खर्च गर्ने गरियो, यो समयमा नेपालको व्यापारमा चीनको उपस्थिति निकै बढाइएको थियो।'

आचार्यका अनुसार भारतमा पिभीनरसिंह रावको पालाबाट खुला बजार नीति अवलम्बन गरिएपछि चीन र भारतको व्यापार बढ्न गएको थियो। नेपालमा भने फरक शैलीबाट भएको चिनियाँ व्यापारको उपस्थिति घटेको थियो। गत वर्षको तुलनामा चीनको व्यापार उल्लेख्य बढेपछि नेपालको अन्तर्राष्ट्रिय व्यापारमा चीनको हिस्सा अहिलेसम्मकै धेरै पुगेको उपलब्ध तथ्यांकले देखाएको छ।

चीनको व्यापार बढेको र अन्य देशको घटेको कारण हिस्सा बढी देखिएको हो। अर्थशास्त्री केशव आचार्य २०७८ पछि भारतसँग अनौपचारिक व्यापार बढेको कारण पनि चीनको हिस्सा बढेको हुन सक्ने देखिन्छ।

भारतबाट आयात घटेको र समग्र अन्तर्राष्ट्रिय व्यापार घटेको वर्ष नै व्यापारमा चीनको हिस्सा बढी भएको देखिन्छ। तर, यस वर्ष चीनसँगको प्रत्यक्ष वस्तु व्यापार नै उल्लेख्य बढेको छ। विशेष गरी स्थल मार्गबाट हुने कारोबार धेरै बढेको देखिन्छ। मुख्यतः तातोपानी र रसुवा नाकाबाट नेपाल चीनको स्थल मार्गबाट कारोबार हुने गरेको छ।

आर्थिक वर्ष २०७६–७७ को मध्यतिरबाट स्थल मार्गबाट पूर्ण निर्यात रोकिएको थियो भने आयात थप घटेको थियो। गत वर्षको अन्तिमबाट निर्यात सुरू भएको हो। २०७९ साउनदेखि फागुनसम्मको अवधिमा तातोपानी नाकाबाट एक रूपैयाँको पनि सामान निर्यात भएको थिएन भने सात अर्ब १८ करोड रूपैयाँको सामान आयात भएको थियो। चालु वर्षमा भने निर्यात ५१ लाख रूपैयाँ बराबरको भएको छ। आयात २३ अर्बभन्दा धेरैको भएको छ।