नेपालमा वैदेशिक लगानीको निम्ति वातावरण सहज छ : गभर्नर अधिकारी
2024-03-27 15:18:50cri
Share with:

वैदेशिक लगानीका लागि नेपालमा सहज वातावरण रहेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताउनुभएको छ।

नेपाल भ्रमणमा रहेको एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआईआईबी) को टोलीसँगको भेटमा गभर्नर अधिकारले वैदेशिक लगानीका लागि राज्यले सबै प्रकारको सहजता उपलब्ध गराउने बताउनुभएको हो। गभर्नर अधिकारीले नेपालमा वैदेशिक लगानी स्वीकृति प्रक्रिया र संस्थागत व्यवस्थाबारे भ्रमण टोलीलाई जानकारी गराउनुभयो।

नेपालको पूर्वाधार विकासको लागि आन्तरिक स्रोत अपुग रहेको उल्लेख गर्दै अधिकारीले एआईआईबी जस्ता संस्थाले जलविद्युत्, प्रसारण लाइनलगायतका पूर्वाधार क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो।

भेटका अवसरमा एआईआईबीको टोली प्रमुख रथनायकेसहित अन्य सदस्यहरूले नेपालमा वैदेशिक लगानीको लागि नीतिगत व्यवस्था, एआईआईबीले लगानी गर्नसक्ने पूर्वाधार क्षेत्र, ऋण स्वीकृति प्रक्रिया र ऋणको ब्याजदरलगायतका विषयमा चासो राखेका थिए । उनीहरुले नेपालमा जलवायु परिवर्तनका कारण सिर्जित चुनौतीलाई सम्बोधन गर्नका निम्ति भएका नीतिगत प्रयासबारे जिज्ञासा राखेका थिए ।

कार्यक्रममा नेपालको विकासका प्राथमिकता, पूर्वाधार विकासमा लगानीका अवसरलगायतका विभिन्न विषयमा दुईपक्षीय छलफल भएको थियो। कान्तिपुर अनलाइन।