चिनियाँ राजदूतको दाबी : सुनकोशी मरिन आयोजनामा बन्यो विश्व कीर्तिमान
2024-03-28 15:40:41cri
Share with:

नेपालका लागि चिनियाँ राजदूत छन सुङले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनामा सुरुङ खन्ने काममा विश्व कीर्तिमान बनेको दाबी गर्नुभएको छ। यो परियोजनामा टनेल बोरिङ मेसिनबाट सुरुङ खन्ने काम जारी छ ।

राजदूत सुङका अनुसार टीबीएमले एक महिनामा १ हजार ५०३.३ मिटर सुरुङ खनेको छ। यो विश्व कीर्तिमान हो । यसअघि यस्तो कीर्तिमान १ हजार २२४.१३ मिटर रहेको समेत उहाँले दाबी गर्नुभयो।

यो आयोजना चिनियाँ निर्माण कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुपले बनाइरहेको छ । सन् २०२३ मा समेत सोही कम्पनीले १२ सय मिटर सुरुङ खनेर रेकर्ड राखेको उहाँले बताउनुभयो। निर्माण कम्पनीले दैनिक ७२.६८ मिटर सुरुङ खन्दै अर्को रेकर्ड राखेको राजदूतको दाबी छ।

सुनकोशी मरिन आयोजना प्रमुख मित्र बरालले राजदूतले दाबी गरे अनुसार आधिकारिक तथ्यांक नभए पनि आयोजनामा सुरुङ निर्माणले गति लिएको बताउनुभयो। 

अबको एक देखि डेढ महिनामा ‘ब्रेक थ्रु’ हुने उहाँको भनाइ छ । अब १.१ किलामिटर सुरुङ खन्न बाँकी छ । यहाँ कुल १३.३ किलोमिटर सुरुङ खन्नु पर्ने छ। यो आयोजना कुल ४९ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ लागतमा कार्यान्वयन भइरहेको छ ।

यो आयोजनाबाट धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाको कुल १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभर सिञ्चाई सुविधा पुर्‍याउने उद्देश्य छ।