नेपालका लागि चिनियाँ राजदूत छन सुङ र उपप्रधान तथा गृहमन्त्री लामिछानेबीच भेटवार्ता
2024-03-28 15:42:51cri
Share with:

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र नेपालका लागि चीनका राजदूत छन सङबीच भेटवार्ता भएको छ। गृह मन्त्रालयमा बुधबार भएको भेटवार्तामा राजदूत छनले नेपालको बृहत्तर हितका लागि सधैं सहकार्य हुने भन्दै सीमा व्यवस्थापनका लागि मन्त्रालयस्तरीय समन्वय र सहकार्य बढाउन आवश्यक रहेको बताउनुभयो।

त्यस्तै कानून कार्यान्वयन गराउने सरकारी निकायको क्षमता विकास र विस्तारसहित प्रहरीका लागि आवश्यक सवारी साधनको व्यवस्थापन, त्रिभूवन विमानस्थलसहित अन्य अध्यागमन कार्यालयको सुदृढीकरण र प्रणालीको सुधारका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको गृह मन्त्रालयको सचिवालयले जनाएको छ।

मन्त्री लामिछानेले चीनले गरेको आर्थिक वृद्धि, रोजगारी सिर्जना, प्रविधिको उपयोग र गरिबी निवारणबाट नेपालले सिक्नुपर्ने भन्दै नेपालको विकाससहित विशेषतः विपद्का बेला चीनले गर्दै आएको सहयोग अविस्मरणीय रहेको र त्यसले निरन्तरता पाउने अपेक्षा राखेको सचिवालयले बताउनुभयो। त्यस्तै, मन्त्री लामिछानेले सुरक्षा प्रणालीको सुधार, अध्यागमन प्रणालीको आधुनिकी र प्रविधिकीकरण, विपद् व्यवस्थापन, सीमा व्यवस्थापनका साथै व्यापार प्रवर्द्धन र पर्यटन क्षेत्रमा थप सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभएको  थियो।

मन्त्री लामिछानेले चीनका केही सहरबाट भैरहवा र पोखरामा सीधा हवाई उडानको अपेक्षा राख्नुभयो। जवाफमा राजदूतले अधिकतम् प्रयास भइरहेको बताएको गृहमन्त्रीको सचिवालयले जानकारी दियो। भेटवार्ताकै अवसरमा चीनका राजदूतले समकक्षी वाङ्ग छियाहङ्गका तर्फबाट गृहमन्त्री लामिछानेलाई चीन भ्रमणको निमन्त्रणा दिनुभएको अनलाइनखबरले समाचार लेखेको छ।