लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान दिवसमा नेपाली र चिनियाँ संगीतकर्मीको जमघट हुने
2024-03-31 15:41:14cri
Share with:

लुम्बिनीमा आगामी अप्रिल ५ तारिख लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान दिवस आयोजना हुने भएको छ। नेपाल पर्यटन बोर्डले चिनियाँ दूतावास, लुम्बिनी विकास कोष र नेपाल ओलम्पिक शान्ति समितिसँगको सहकार्यमा लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान दिवसको आयोजना गर्ने भएको हो।

लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान दिवसकै सेरोफेरोमा लुम्बिनी शान्ति कन्सर्ट पनि गरिनेछ। कार्यक्रमले नेपाल र चीनबिचको सम्बन्धलाई अझ प्रगाढ बनाउने अपेक्षा राखिएको छ। कार्यक्रममा विश्व प्रख्यात गायिका आनी छोयिङ डोल्मा, चिनजानका चिनियाँ गायक तथा संगीतकार तथा लुम्बिनीका परम्परागत संगीतकारहरुको प्रस्तुती रहनेछ।

प्रस्तुतीमा सहभागी हुने गायिका आनी छोइङ डोल्मा नेपाल सहित विश्वभर नै धार्मिक गायिकाका रुपमा परिचित हुनुहुन्छ। भिक्षुणीको रूपमा उहाँले सकेसम्म संवेदनशील प्राणीहरूलाई फाइदा पुर्‍याउन र भिक्षुणीहरूको उन्नतिका लागि आफ्ना सबै क्षमताहरू प्रयोग गर्ने इमानदार इच्छा विकास गर्नुभएको छ। आनीले केटीहरूलाई अध्ययन गर्न र उनीहरूको आफ्नै क्षमताहरू विकासका लागि अवसरहरू सिर्जना गर्नका लागि आफ्नो जीवन शिक्षकको दर्शनमा समर्पित गर्नुभएको छ।

कुनै औपचारिक सांगीतिक तालिम नपाएपनि सानैदेखि गीत गाउन रुचि राख्ने आनीले अमेरिका र युरोपको भ्रमण गरी हिमालयन बौद्ध मन्त्र, अनुष्ठान जप र नेपाली संगीतलाई विश्वमाझ फैलाउनुभएको छ भने हालससम्म राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा १६ वटा एल्बमहरू निकालिसक्नुभएको छ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सम्मानित मानवतावादी नारी आनीले सन् २०१४ मा दुई कार्यकाल नेपालका लागि युनिसेफको पहिलो राष्ट्रिय सद्भावना दूतका रूपमा नियुक्त हुनुभएको थियो।

प्रस्तुतीमा सहभागी हुने मुख्य भूमि चीनकी मङ्गोलियन महिला गायिका वुलान थुयाको जन्म सन् १९८३ सेप्टेम्बरमा भएको थियो। उहाँले चीनको जातीय विश्वविद्यालयको भोकल संगीत विभागबाट स्नातक गर्नुभएको हो। अखिल चाइना फेडेरेसन अफ ट्रेड युनियनकी एकल गायक, अल्पसंख्यक संगीत संघको सदस्यका अलावा उहाँ चीन स्वयंसेवक संघको पनि सदस्य हुनुहुन्छ।

सोही कार्यक्रममा सहभागी हुने अर्का गायक लु निङ भने चीनको राष्ट्रिय परम्परागत अर्केस्ट्राका कलाकार हुनुहुन्छ। हाल चिनियाँ राष्ट्रिय आर्केस्ट्रा समाजको पाँचौं गुकिन व्यावसायिक समितिको उप-महासचिवको रूपमा सेवा गरिरहनुभएका लु निङले ठूला-ठूला आर्केस्ट्रा कार्यहरूमा सहकार्य गर्नुभएको छ।

महत्त्वपूर्ण सांस्कृतिक कार्यक्रमहरूमा भाग लिएका लु निङले केनेडी सेन्टर, लिंकन सेन्टर, कार्नेगी हल र कोलम्बियाको राष्ट्रिय कला केन्द्र लगायतका प्रतिष्ठित स्थानहरूमा प्रदर्शन गर्नुभएको छ। सीसीटीभी, चाइना रेडियो इन्टरनेशनल, फिनिक्स, बीटीभी, हुनान टिभी, चाइनिज म्युजिक म्यागजिन, पिपुल्स म्युजिक म्यागजिन, र चाइना म्युजिक लाइफ डेली लगायत धेरै प्रसिद्ध मिडिया आउटलेटहरूले लु निङको अन्तर्वार्ता लिइसकेका छन्।

लुम्बिनीलाई ‘विश्व शान्ति र सांस्कृतिक पर्यटन गन्तव्य’ को रूपमा विश्वव्यापी रूपमा प्रवर्द्धन गर्न यो कार्यक्रम केन्द्रित हुने र नेपाल-चीन सम्बन्धलाई अझ प्रगाढ बनाउने अपेक्षा गरिएको छ। आयोजकका अनुसार अन्तर्राष्ट्रिय राष्ट्रिय म्याराथन धावक, चिनियाँ प्रतिनिधि, कूटनीतिज्ञ, कलाकार, गायक, प्रदेश तथा राष्ट्रिय सरकारका पदाधिकारी, पर्यटन व्यवसायीको सहभागिता रहनेछ।