पाँच खेलाडीसहित १८ जना सम्मानित
2024-04-04 17:12:55cri
Share with:

नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६०औँ वार्षिकोत्सवमा पाँच खेलाडीसहित १८ जना सम्मानित भएका छन्। राष्ट्रिय सभागृहमा बुधबार भएको कार्यक्रममा राखेपले विभिन्न ६ विधामा १८ जनालाई सम्मान गरेको हो। सम्मानित हुने खेलाडीमा सिनियर पुरुषतर्फ एथलेटिक्सका दीपक अधिकारी र महिलामा बक्सिङकी सुष्मा तामाङले सर्वोत्कृष्ट खेलाडीको अवार्डसहित एक एक लाख रुपियाँ पुरस्कार पाउनुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

नवौँ राष्ट्रिय खेलकुदको १० हजार किलोमिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका दीपक नेपालमै भएको १६औं एसियाली क्रसकन्ट्री एथलेटिक्सका दोहोरो स्वर्ण विजेता हुनुहुन्छ। यस्तै सुष्माले थाइल्यान्डको बैंककमा भएको एएसबीसी यु–२२ एसियाली महिला बक्सिङ च्याम्पियनसिपमा रजत जित्दै इतिहास रच्नुभएको थियो। 

नेपाली बक्सिङ खेलाडीले कुनै पनि एसियाली स्तरको बक्सिङमा रजत जितेको अहिलेसम्मकै पहिलो हो। सुष्माले नवौँ राष्ट्रिय खेलकुदको ४८ केजीमा पनि स्वर्ण जित्नुभएको थियो। 

यस्तै जुनियरको पुरुषमा क्रिकेटका अर्जुन कुमाल र महिलामा पौडीकी डुवाना लामाले सर्वोत्कृष्ट खेलाडीको अवार्ड हात पार्नुभयो। दुवैलाई जनही ५० हजार रुपियाँ र ट्रफी प्रदान गरियो।

नेपाललाई आईसीसी यु–१९ विश्वकपमा छनोट गराउन भूमिका खेल्ने एक मुख्य खेलाडी अर्जुन यु–१९ मा दुई शतक प्रहार गर्ने खेलाडी हुनुहुन्छ। डुवानाले नवौँ राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्दै नौ स्वर्ण र एक रजत जित्नुभएको थियो। पारा एथलिट खेलाडीको अवार्ड पौडीका भीमबहादुर कुमाललाई प्रदान गरियो। गत वर्ष भएको सुरेन्द्र स्मृति पारा पौडी प्रतियोगिताको ५० मिटर फ्रि स्टायलमा भीमले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जित्नुभएको थियो। 

खेल क्षेत्रमा उत्कृष्ट कार्य गरेवापत नवलपरासीको मध्यबिन्दु नगरपालिकालाई उत्कृष्ट स्थानीय तह तथा नेपाल भलिबल सङ्घलाई उत्कृष्ट राष्ट्रिय खेल सङ्घका रुपमा पुरस्कृत गरियो। मध्यबिन्दुका मेयर भीमलाल अधिकारी तथा भलिबल सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्दले अवार्ड ग्रहण गर्नुभएको थियो। यस्तै राखेप कर्मचारीको प्रशासनिकतर्फ नायब वरिष्ठ प्रशासकिय अधिकृत भोजानन्द राईले सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कार, नायब वरिष्ठ प्रशासकीय अधिकृत सुनिलकुमार दाहालले उत्कृष्ट परिषद् सेवा पुरस्कार र नायब वरिष्ठ प्रशासकीय अधिकृत शारदा दाहालले परिषद् सेवा पुरस्कार प्राप्त गर्नुभयो। 

प्रशिक्षणतर्फ नायब वरिष्ठ कुस्ती प्रशिक्षक मुम्ताज अली इद्रिसी सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कार, क्रिकेट प्रशिक्षक मन्जुर आलम खान उत्कृष्ट परिषद् सेवा पुरस्कार र भलिबल प्रशिक्षक उमादेवी गुरुङ परिषद् सेवा पुरस्कारबाट पुरस्कृत हुनुभयो। सर्वोत्कृष्ट, उत्कृष्ट र परिषद् सेवा पुरस्कारबाट पुरस्कृत हुनेलाई क्रमश: २५ हजार, १५ हजार र १० हजार रुपियाँ पुरस्कारसहित ट्रफी प्रदान गरियो। 

राखेप कर्मचारीतर्फ नै इन्जिनियर सविन महर्जन तथा सहायक बक्सिङ प्रशिक्षक राज श्रेष्ठले करार सेवा पुरस्कार प्राप्त गर्नुभयो। दुवैलाई जनही १० हजार रुपियाँ र  ट्रफी प्रदान गरियो। खेल पत्रकार सम्मानबाट नेपाल टेलिभिजनका दुर्गानाथ सुवेदी (देवेन्द्र) र कान्तिपुर टेलिभिजनकी सविना कार्की सम्मानित हुनुभयो। दुवैलाई ट्रफीसहित जनही २० हजार रुपियाँ पुरस्कार प्रदान गरियो। उहाँहरुलाई राखेपका संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय योजना आयोगका सदस्य डा. उमाशङ्कर प्रसाद, राखेपका उपाध्यक्ष शिव कोइराला र राखेपका सदस्य सचिव टङ्कलाल घिसिङले पुरस्कृत गर्नुभयो।