शुक्रबारसम्म २६४ आरोहीलाई हिमाल चढ्ने अनुमति प्रदान
2024-04-06 17:26:40cri
Share with:

वसन्तु ऋतुको आरोहण सिजनका लागि शुक्रबारसम्म २६४ जना आरोहीले हिमाल आरोहण अनुमति लिएका छन्। पर्यटन विभागको तथ्यांक अनुसार शुक्रबारसम्म १५ हिमालका लागि सो संख्यामा आरोहण अनुमति जारी भएको विभागले जनाएको छ। यस सिजनमा हिमाल चढ्न सबैभन्दा धेरै सगरमाथामा अनुमति जारी भएको अनलाइन खबरले लेखेको छ।

सगरमाथाका लागि शुक्रबारसम्म ११ समूहका १३० जना आरोहीले अनुमति लिएका छन्। जसमध्ये २६ जना महिला छन्। दोस्रो स्थानमा अमादब्लम रहेको छ। यो हिमाल चढ्न ४ समूहका ३८ जनाले अनुमति लिएका छन्। जसमध्ये ६ जना महिला छन्।

अन्नपूर्ण प्रथमका लागि २५ र द्यौलागिरी हिमाल चढ्न १५ जनाले अनुमति लिएका छन्। यसैगरी मकालु प्रथमका लागि १०, जुगल प्रथम र द्धितीयका लागि ८/८, पुथा हिउँचुली र कञ्चनजङ्घाका लागि ७/७ जनाले अनुमति लिएको विभागले जनाएको छ।

हिमलुङ हिमालमा ५, तेङगोपा हिमालमा ४ जनाले अनुमति लिएको विभागले जनाएको छ। अहिलेसम्म सबै हिमालमा ६० जना महिलाले आरोहण अनुमति लिएका छन्।

शुक्रबारसम्म विभागले आरोहण अनुमतिबाट मात्र १९ करोड ९२ लाख रुपैयाँ बराबर रोयल्टी संकलन गरेको छ।