पर्यटकलाई नेपाली नयाँ वर्षमा छुटैछुट
2024-04-11 15:52:09cri
Share with:

नयाँ वर्षको उपलक्ष्यमा होटलहरुले विभिन्न किसिमका छुटको अफर ल्याएका छन्। आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न व्यवसायीले अफर ल्याएका हुन् । पर्यटकीय राजधानी पोखरामा १९ औं फेवा नवमहोत्सव–२०८१ आयोजना हुँदैछ।

 चैत २९ देखि वैशाख १ गतेसम्म होटल संघ पोखरा च्याप्टरले महोत्सव आयोजना गर्न लागेको हो । ‘पर्यटन संस्कृति र खाना’ नाराका साथ नेपाली मौलिक संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवर्द्धन गर्ने मुख्य उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवको अवसरमा संघ मातहतका होटलको प्रकाशित दररेटमा ३० प्रतिशतसम्म छुटको घोषणा गरिएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो।

 उहाँले भन्नुभयो, ‘पर्यटकीय सेवासुविधामा पनि सम्बन्धित व्यवसायीका तर्फबाट भारी छुट प्रदान गर्नेछौं । होटल तथा पर्यटन व्यवसायलाई पुरानै लयमा फर्काउँदै आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य महोत्सवले लिएको छ ।’ फेवातालको किनारस्थित ड्यामसाइड चोकदेखि खहरे चोकसम्मको सडकमा विविध सांस्कृतिक कार्यक्रमसहित महोत्सव आयोजना गरिनेछ । महोत्सवमा स्थानीय २ लाख तथा आन्तरिक र बाह्य पर्यटक १ लाखभन्दा बढीले अवलोकन गर्ने अध्यक्ष सुवेदीले बताउनुभयो। विविध सांस्कृतिक झाँकी, नृत्य र खानाका स्टल पनि महोत्सवमा समेटिने छन् ।

 महोत्सवका प्रमुख आकर्षणहरुमा गण्डकी प्रदेशमा रहेका रैथाने खाना, परम्परागत नेपाली खाना, सांस्कृतिक झाँकीका कार्यक्रम, लोकदोहोरी र प्रख्यात कलाकारबाट पप कन्सर्ट र स्थानीय कलाकारद्वारा विभिन्न सांस्कृतिक नृत्यसहित हास्यव्यंग्य प्रस्तुति रहने जनाइएको छ । नाराययणगढ–बुटवल सडक खण्ड विस्तार भइरहेकाले सडक मार्ग राम्रो नहुँदा सिजनमा पनि आन्तरिक तथा बाह्य पर्यटक आगमन बुटवल, भैरहवा र लुम्बिनीमा उत्साहजनक नभएको भैरहवामा कार्यक्षेत्र बनाएर लामो समयदेखि होटल व्यवसाय सञ्चालन गर्दै हानका केन्द्रीय सदस्य सिपी श्रेष्ठको भनाइ छ ।

 भैरहवा, लुम्बिनी र सुनौली क्षेत्रमा ठूला होटलको संख्या १ सय ५० भन्दा बढी छ । सडक मार्ग राम्रो नहुनु र निर्माण भएको अन्तर्राष्ट्रिय विमानस्थलमा बाह्य उडान नहुँदा होटलको औषत अकुपेन्सी २० प्रतिशतभन्दा कम भएको क्षेत्रीय सिद्धार्थ होटल संघले जनाएको छ।

 अर्को पर्यटकीय गन्तव्य सौराहामा नयाँ वर्षमा पर्यटकलाई आकर्षित गर्न विभिन्न सांस्कृतिक तथा कन्सर्ट कार्यक्रम हुँदैछ । रेबान र हानको समन्वयमा सौराहामा आन्तरिक तथा बाह्य पर्यटकलाई मनोञ्जन प्रदान गर्न कार्यक्रम गर्न लागिएको हो । नयाँ वर्षमा सौराहाका होटलमा घोषित छुट नभए पनि माग र आपूर्तिको आधारमा पर्यटकलाई छुट दिइएको हान सौराहा च्याप्टरका अध्यक्ष गंगा गिरीले बताउनुभयो।

 पर्यटकलाई आकर्षित गर्ने कुनै योजना नभएको हान कोशी च्याप्टरका अध्यक्ष राजन श्रेष्ठले बताउनुभयो। उहाँले भन्नुभयो, ‘भारतीय पर्यटकको आगमन विगतका वर्षमा हुने गरेको भए पनि पछिल्लो समय भारी गिरावट आउँदा होटलको अकुपेन्सी २० प्रतिशत तल छ।’ इलाम आसपासको क्षेत्रमा आन्तरिक पर्यटकले नयाँ वर्षमा भरिने भए पनि बाह्य पर्यटकको संख्या भने न्यून रहेको श्रेष्ठले बताउनुभयो।

भक्तपुरमा पनि नयाँ वर्षको अवसरका १० देखि २० प्रतिशतसम्म खाना तथा कोठामा छुट दिइएको कारोबार अनलाइनले जनाएको छ।

होटल संघ बन्दीपुर च्याप्टर र बन्दीपुर पर्यटन विकास समाजको समन्वयमा कार्यक्रम गर्न लागिएको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन श्रेष्ठले बताउनुभयो। नयाँ वर्षमा आउने पर्यटकलाई विभिन्न जातजातिका भेषभुषासहितको झाँकी तथा सांस्कृतिक कार्यक्रम गरेर मनोरञ्जन गराउने योजना रहेको उनले बताए । साना–ठूला गरी ६६ होटल रहेको बन्दीपुरमा आन्तरिक तथा बाह्य पर्यटक नआउँदा अकुपेन्सी २० प्रतिशतमात्र रहेको होटल संघ बन्दीपुरले जनाएको छ ।