विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार रहेको प्रधानमन्त्री दाहाल भनाइ
2024-04-12 15:30:10cri
Share with:

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा लगानी गर्न इच्छुक विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार रहेको बताउनुभएको छ। भारतीय उद्योग परिसंघका प्रेसिडेन्ट डेजिग्नेट सञ्जीव पुरी र भारतीय प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले यस्तो बताउनुभयो।

सीआईआईको प्रतिनिधिमण्डलले बुधबार प्रधानमन्त्री दाहाल, अर्थमन्त्री वर्षमान पुन र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भेटवार्ता गरेको थियो । भेटमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत महासंघका पधादिकारी र कार्यकारी सदस्यको समेत उपस्थिति थियो ।

 भेटमा प्रधानमन्त्री दाहालले विदेशी लगानीकर्तालाई सहज बनाउन सरकार नीतिगत सुधार गर्न इच्छुक रहेको पनि बताउनुभयो। विदेशी लगानीकर्तालाई सरकारले लजिस्टिक पनि सहयोग गर्ने उनको प्रतिबद्धता छ । सीआईआई प्रतिनिधिमण्डललाई नेपालमा लगानी गर्न उहाँले आग्रहसमेत गर्नुभयो।

 यसैबीच अर्थमन्त्री पुनले नेपालको अर्थतन्त्रमा पनि भारतीय अर्थतन्त्रको ठूलो भूमिका रहेको बताउनुभयो । नेपाल र भारतबीचको व्यापार र लगानी प्रवर्द्धनका लागि आफूले आफ्नो क्षमताले सक्दो प्रयास गर्ने सीआईआई प्रतिनिधिमण्डललाई उहाँले आश्वासन दिनुभयो। नेपालमा विदेशी लगानीकर्ताले स्थापना गर्ने उद्योगलाई सहजीकरण गर्न आवश्यक सबै सहयोग गर्ने उद्योगमन्त्री भण्डारीले बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघको ५८औं वार्षिक साधारणसभामा सहभागी हुन पुरीको नेतृत्वको सीआईआई टोली काठमाडौं आएको छ । पुरी वार्षिक साधारणसभामा मुख्य वक्ता छन् । प्रतिनिधिमण्डलमा भारतका ६ वटा ठूला उद्योगका प्रमुख कार्यकारी अधिकृतसमेत छन् । भेटका क्रममा पुरीले सुधारका लागि सरकार प्रतिबद्ध भएको देखेर आफूखुसी भएको बताउनुभयो । भारतीय लगानीकर्ता नेपालमा लगानी गर्न तयार रहेको र नेपाल सरकारसँग सहजीकरणको उहाँले माग गर्नुभयो। कान्तिपुर।