हिमाल आरोहण गर्न ४२ देशका आरोही नेपालमा, चिनियाँ नागरिकको संख्या सबैभन्दा धेरै
2024-04-13 16:36:16cri
Share with:

वसन्तकालीन याममा विश्वकै अग्लो शिखर सगरमाथासहित २१ वटा हिमाल आरोहण गर्न ४२ मुलुकका विदेशी आरोही नेपाल आइपुगेका छन् । पर्यटन विभागका अधिकृत दिलीप महर्जनका अनुसार, चैत मसान्तसम्म विभागबाट ४२ वटा मुलुकका आरोहीले आरोहण अनुमति लिइसकेका हुन् । जसमा संयुक्त राज्य अमेरिकाका ४८, चिनियाँ २५, जापानी १८, बेलायती १६, रसियाली १६, पोलिस ९, अस्ट्रेलियाली ९ जना छन् । यी मुलुकबाहेक अन्य ३५ मुलुकबाट न्यूनतम १ देखि अधिकतम ६ जनासम्म आरोहीहरू नेपाल आएका छन् । त्यसैगरी नेपालबाट हालसम्म ७ जनाले आरोहण अनुमति लिएका कान्तिपुर अनलाइनले जनाएको छ।

 विभागले फागुन १८ यता सगरमाथासहित पूर्वमा कञ्चनजंघादेखि पश्चिममा धौलागिरि हिमाल आरोहणका लागि ६१ वटा आरोहण दललाई सलामी दस्तुर लिई आरोहण अनुमति दिएको हो । जसमा १ सय १९ महिला र ४ सय २४ पुरुष गरी ५ सय ४३ जना छन् । आरोहण अनुमति जारी गर्दा विभागले २८ लाख ३६ हजार ९ सय ३३ अमेरिकी डलर (३७ करोड ७३ लाख ८३ हजार १ सय ६ रुपैयाँ) सलामी दस्तुर संकलन गरेको अधिकृत महर्जनले जनाउनुभयो। हालसम्म विभागले प्राप्त गरेको सलामी दस्तुरमध्ये ३३ करोड रुपैयाँ सगरमाथा आरोहण गर्ने दलबाट संकलन भएको छ । सगरमाथा आरोहणका लागि २२ वटा आरोहण दलबाट २ सय ३४ जनाले अनुमति लिएका छन् । योपछि सर्वाधिक सलामी दस्तुर मकालु हिमालबाट भएको छ । आरोहणमा जाने ४ आरोहण दलका ४५ सदस्यबाट विभागले १ करोड ७ लाख रुपैयाँ सलामी दस्तुर संकलन गरेको छ ।

 यस पटक सगरमाथा आरोहण गर्न जानेहरूका लागि मौसम प्रतिकूल भएकाले आधारशिविरदेखि दोस्रो शिविरसम्म बाटो बनाउने कार्य प्रभावित भएको छ । पर्वतारोहण सञ्चालक संघका अध्यक्ष डम्मर पराजुलीका अनुसार, आधारशिविरमाथि आइसफल डाक्टरले बाटो बनाइरहेका थिए । तर केही दिनयता हिमाली भेगमा हिमपात भएका कारण आधारशिविरमाथि बाटो बनाउने कार्य प्रभावित बनेको हो । उनका अनुसार, मौसम सफा भएपछि आरोहीहरूका लागि बाटो बनाउने कार्य पुन: सुचारु हुनेछ । दोस्रो शिविरभन्दा माथि डोरी टाँगेर बाटो बनाउने काम जेठ पहिलो सातासम्म हुने व्यवसायीहरूले प्रक्षेपण गरेका छन् ।

 नेपालले ५ हजार ५ सय मिटरभन्दा अग्ला १३ सय वटा हिमालमध्ये ४ सय १४ वटा आरोहण तथा अन्य पर्यटकीय गतिविधिका लागि खुला गरेको छ ।

 नेपालमा पर्यटन विभागबाहेक नेपाल पर्वतारोहण संघले पनि हिमाल आरोहणको अनुमति जारी गर्छ । संघलाई सरकारले ५८ सयदेखि ६४ सय मिटरसम्मका २७ वटा हिमाल आरोहणको अनुमति जारी गर्न अनुमति दिएको छ ।

 संघ मातहत रहेका ती हिमालमा अधिकांश आरोहीहरू ८ हजार मिटरभन्दा उचाइका विश्वका १४ अग्ला हिमाल आरोहण गर्न जानुअघि अभ्यासका लागि जाने गर्छन् । सगरमाथा आरोहणका लागि नेपाल सरकारले विदेशी आरोहीबाट वसन्तयाममा ११ हजार डलर (१४ लाख ६६ हजार रुपैयाँ) र नेपाली नागरिकबाट ७५ हजार रुपैयाँ सलामी दस्तुर लिने गर्दछ । सगरमाथाबाहेक अरू ८ हजार मिटर अग्ला हिमाल आरोहण गर्दा विदेशीले १८ सय डलर (२ लाख ४० हजार रुपैयाँ) र ६५ सय मिटर उचाइभन्दा कम उचाइ भएका हिमाल आरोहण गर्दा २ सय ५० डलर (३३ हजार रुपैयाँ) सलामी दस्तुर बुझाउनुपर्छ । यी हिमालमा नेपाली नागरिकले आरोहण गर्दा विदेशीको दाँजोमा अत्यन्तै न्यून सलामी दस्तुर बुझाउँछन् ।