पाँचौं जुम्ला-रारा अल्ट्रा म्याराथन सुरु
2024-04-13 16:36:53cri
Share with:

जुम्लामा पर्यटन प्रवर्द्धनको लागि भन्दै जुम्ला-रारा अल्ट्रा म्याराथन सुरु भएको छ। युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सिट्टी फुकेर कर्णालीको धार्मिक पर्यटनको केन्द्र मानिएको चन्दननाथ भैरबनाथ मन्दिर अगाडिदेखि म्याराथन सुरु भएको घोषणा गर्नुभएको थियो। म्याराथनमा ५० जना स्वदेशीसहित ४ जना विदेशी खेलाडीहरु सहभागी रहेका छन्।

 कर्णाली स्पोर्ट्स क्लब जुम्लाको आयोजनामा जुम्लादेखि रारातालसम्मको ४९ किलोमिटर जुम्ला-रारा अल्ट्रा म्याराथन सुरु भएको हो । कर्णाली प्राकृतिक सुन्दरताले मात्रै भरिपूर्ण छैन । खेल पर्यटनका हिसाबले पनि उच्च सभावना बोकेको क्षेत्रका रुपमा परिचित छ भन्ने सन्देश फैलाउन पाँच वर्ष अघिदेखि हरेक नयाँ वर्षको दिनमा जुम्ला-रारा अल्ट्रा म्याराथन हुँदै आएको क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिनुभयो।

 यसअघि विसं २०७५ मा पहिलो संस्करणको खेल आयोजना गरिएको थियो। जुम्ला सदरमुकाम खलंगाको चन्दननाथ भैरवनाथको आँगनबाट सुरु हुने म्याराथन डाँफे लेक, चुच्चेमारा लेक हुँदै राराताल छेउमा पुगेर सकिने छ।

 जुम्लादेखि दुई दिनको पदयात्रा रहेको सो रुटमा व्यावसायिक खेलाडीले विगतका प्रतियोगितामा ५ देखि ७ घण्टामा पार गरेका छन्। आयोजकका अनुसार प्रथम खेलाडीको एक लाख पुरस्कार राशि राखिएको छ भने द्वितीयको ७५ हजार राखिएको छ। यसपालि उत्कृष्ट ५ खेलाडी पुरस्कृत हुनेछन्। म्याराथनमा सहभागी हुने सार्क राष्ट्रका धावकलाई १४ हजार ५ सय, अन्य राष्ट्रका धावकलाई १६ हजार, नेपाली धावकका लागि ७ हजार र स्थानीय धावकका लागि ५ हजार दर्ता शुल्क तोकिएको थियो।

सो रकमबाट रारातालको बाससहित टिसर्ट तथा खाजाखानाको प्रबन्ध गरिएको आयोजकले जनाएका छन् । म्याराथनमा सहभागी हुनको लागि ७७ जनाले नाम दर्ता गराएको भए पनि ५४ जना मात्रै सहभागी भएका कान्तिपुर अनलाइनले जनाएको छ।