अभ्यासबिनै १७० किमीको मञ्जुश्री ट्रेल जित्ने निर्मला
2024-04-15 15:46:47CRI
Share with:

अल्ट्रा धाविक निर्मला राईले चैत अन्तिममा सञ्चालित १०० माइल (१७० किमी) लामो चौथो मन्जुश्री ट्रेल रेसमा पहिलो स्थान हात पार्नुभयो। खोटाङ ऐसेलुखर्की गाउँपालिकाकी ३३ वर्षीया निर्मलाले अघिल्लो संस्करणको च्याम्पियन अनिता राईलाई पछि पार्दै पहिलो पटक मन्जुश्री ट्रेल रेस च्याम्पियन बन्नु भएको हो। निर्मलाले अनिताकै नाममा रहेको कोर्स रेकर्ड टाइमको कीर्तिमान पनि तोड्नु भएको अनलाइन खबरले लेखेको छ।

‘पहिलो पटक यति लामो रेसमा दौडेको थिएँ। मन्जुश्री पहिलो पटक जितें। अझ कीर्तिमानसहित जित्न पाउँदा एकदमै खुशी छु’, निर्मलाले भन्नुभयो। काठमाडौँ उपत्यका पूरै फन्को लगाउनुपर्ने मन्जुश्री ट्रेल रेसमा निर्मलाले ३४ घण्टा ५४ मिनेट ३० सेकेण्डमा उक्त दूरी पूरा गर्नु भएको हो। दोस्रो हुनु भएकी अनिताले ३५ घण्टा ५७ मिनेट १९ सेकेण्ड लगाउनुभयो। यसअघि अनिताले तेस्रो संस्करणमा ३६ घण्टा ४७ मिनेट १२ सेकेन्डमा दौड पूरा गर्दै कीर्तिमान बनाउनु भएको थियो।

१०० माइलमा कूल १३ जनाले रेस पूरा गर्दा ९ पुरुष र ४ महिला थिए। त्यसमा पनि समग्रमा निर्मला पाँचौँ हुनु भएको थियो। रेस जितेपछि उहाँले धेरैतिरबाट वाहवाही पाउनु भयो। सुरुमा त्यस्तो केही थिएन। तर जितेको समाचारहरु आएपछि उत्साही भएँ। दु:ख गरेपछि फल पाइन्छ भनेर घरबाट पनि मेसेजहरु आयो। गाउँमा पनि सबैले राम्रो गरेछ भने, खुशी लाग्यो, उहाँले भन्नुभयो। उहाँलाई वैशाख १ मा जुम्लामा भएको जुम्ला रारा अल्ट्रा रेसमा पनि सहभागी हुन प्रस्ताव आएको थियो। तर गोडा पूर्ण ठीक नभएकाले उहाँ जानु भएन।

मन्जुश्रीको १०० माइल रेसको महिला र पुरुषतर्फका विजेतालाई स्वीट्जरल्याण्डमा हुने अन्तर्राष्ट्रिय १०० किलोमिटरको रेसमा सहभागी गराउने आयोजकले जनाएको छ।

निर्मलाले १०० माइल दौडिएको मञ्जुश्री ट्रेल रेस नै पहिलो थियो। उहाँले यसबारे तालिम तथा प्रशिक्षणहरु पनि लिनु भएको थिएन। त्यसैले यो प्रतियोगितामा स्वर्ण जित्ने त उहाँले सोच्नु भएको थिएन। ‘मैले जित्छु भनेर सोचेको पनि थिइन। किनकी म पहिलो पटक यति लामो रेस दौडिरहेको थिएँ,’ निर्मलाले भन्नुभयो, ‘सबैले गत संस्करणको च्याम्पियन अनितालाई फलो गरिरहेका थिए, मैले चिनेको पनि खासै कोही थिइन।’

रेसको बीचमा उहाँ केही नर्भस समेत हुनुभयो। रेसको बीचमै छाड्नुपर्ने हो कि भन्ने चिन्ता पनि थियो। तर, आफैँले हिम्मत गर्नुभयो र रातिको समयमा पनि दौडिइनुभयो र अन्तिममा कीर्तिमान बनाउनुभयो।

यो प्रतियोगिता जित्नुअघि निर्मलाको नाम चर्चामा थिएन। निर्मलाको न कुनै टिम थियो न कुनै प्रायोजक। उहाँ केवल आफ्नै बलमा दौडिनु भएको थियो। उहाँले मन्जुश्री रेसका लागि खासै प्रशिक्षण र अभ्यास पनि गर्नु भएको थिएन। तैपनि अधिकांश समय सँगै दौडिएकी अनितालाई उहाँले अन्तिममा पछि पार्नुभयो। ‘म प्रिया राई र जिम्मी सरप्रति आभारी छु। झुलेमा पुग्दा अनितालाई सहयोग गर्नेहरु थिए। म के गर्ने के गर्ने भएँ। पछि जिम्मी सरले हौसला दिनुभयो’, उहाँले भन्नुभयो।

निर्मलाले थोरै रेस मात्र कुद्नु भएको छ। जति कुद्नुभयो त्यसमा पोडियम फिनिस (शीर्ष तीन) मा आउनु भएको छ। मन्जुश्री ट्रेल रेस दौडनुअघि उहाँले १७ चैतमा रामेछापको सैलुङमा भएको सुनापती सैलुङ अल्ट्रा म्याराथनमा पहिलो स्थान हात पार्नु भएको थियो। १ फागुनमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा भएको छैटौँ राष्ट्रिय मौराखारा अल्ट्रा गुरिल्ला म्याराथनमा निर्मला तेस्रो हुनु भएको थियो भने फागुन अन्तिममा ओखलढुंगामा भएको खिजिदेम्बा अल्ट्रा म्याराथनमा दोस्रो हुनुभयो।

२० माघमा भएको केभीआर तेस्रो स्टेजमा तेस्रो हुनु भएको थियो।

निर्मलाले अल्ट्रा रेस दौडन थालेको करिब ४ वर्ष भयो। निर्मला ट्रेल रेसमा लाग्नुमा अर्की धाविका प्रिया राईको सहयोग छ। निर्मला र प्रिया दुवै खोटाङका हुनुहुन्छ। निर्मला भन्दा सानी भए पनि प्रियाले पहिलेदेखि नै दौडमा सहभागिता जनाउनुभयो।

कुनै बेला यी दुवै काँडाघारीमा नजिकै डेरामा बस्नुहुन्थ्यो। प्रिया सधैँ दौडन जानुहुन्थ्यो। एक दिन प्रियाले निर्मलालाई पनि सँगै ट्रेनिङमा लिएर जानुभयो। हामी दुवै एकै जिल्लाको नजिकै बस्थ्यौं। एक दिन दौडन जाने हो भनेर प्रिया बहिनीले भन्नुभयो। म सँगै गएँ। अनि पो थाहा भयो। यस्तो दौड पनि हुने रहेछ भनेर’, निर्मलाले सुनाउनुभयो। त्यही नै उहाँको करिअरको कोशेढुंगा बन्यो।

दौडमा लाग्नुअघि उहाँ मार्केटिङको काम गर्नुहुन्थ्यो। घरको जेठी सन्तान भएकाले आर्थिक जिम्मेवारी पनि उहाँमा थियो। त्यसैले आर्थिक उपार्जनको काममा लाग्नु पर्ने भएकाले रेसमा ढिलामात्र लाग्नुभयो।

उहाँले सुरुमा दौडेको झिल्टुङ क्रस कन्ट्री रेस हो। जहाँ उहाँ चौथो हुनु भएको थियो। त्यसपछि उहाँले विभिन्न रोड रेसहरुमा पनि भाग लिनुभयो। वीर गणेशमान रोड रेसमा शीर्ष दशमा पनि आयोजकले राम्रो दौडिएको भनेर उहाँको प्रशंसा गरेपछि उहाँ अझ उत्साहित हुनु भएको थियो। तर, उहाँको दौडले निरन्तरता पाउन सकेन। ‘गाउँमा गएर बसेँ घरको कामहरुले गर्दा।

काठमाडौं बस्न पाइनु, पछि प्रियाले बोलाएपछि उहाँ दौडन आउनु भएको थियो। उहाँले गत वर्ष अप्रिलमा मनास्लु ट्रेल रेसमा सहभागिता जनाउनु भएको थियो। जहाँ उहाँले दोस्रो स्थान हात पार्नुभयो।