हरियो तरकारीमा अत्यधिक विषादि
2024-04-17 15:28:39CRI
Share with:

चितवनको भरतपुरमा हरियो तरकारीमा अत्यधिक विषादि प्रयोग हुने गरेको पाइएको छ। पछिल्लो पटक एउटा जन्मदिनको पार्टीमा विषादियुक्त तरकारी खाएकै कारण परिवारका सात जना बिरामी परेका छन्। भरतपुर महानगरपालिका–८ गौरीगन्जका माधव रिजाल सोमबार दिनभरि नै चितवन मेडिकल कलेजमा भर्ना भएर बस्नुभयो। उहाँले आइतबार साँझ आफ्नै भाउजु कौशिला रिजालको जन्मदिनमा हाटबजारबाट खरिद गरेर ल्याएको बोडीको तरकारी खाएपछि बिरामी पर्नुभएको गोरखापत्र अनलाइनले लेखेको छ। “मलाई मात्रै हैन परिवारका सात जना सदस्यलाई झाडाबान्ता भयो। तीन जनालाई त अस्पतालमै भर्ना गरेर उपचार गरिएको हो,” उहाँले भन्नुभयो, “हामीले हाटबजारबाट ल्याएको बोडीकै तरकारीमा विषादि रहेछ थाहै भएन।”

जन्मदिनको भोज खाने १० जनामध्ये तरकारी नखाने बालबालिका मात्रै बिरामी नपरेको उहाँले बताउनुभयो। बोडीको तरकारी खाएका सबै जनालाई पेट दुख्ने, बान्ता र पखाला लाग्ने समस्या भएको हो।

“देख्दा सर्लक्क परेको तनेबोडी राम्रो होला भनेको त सबै विषादि राखेर पो सर्लक्क बनाइएको रहेछ,” उहाँले भन्नुभयो, “तत्काल विषादि राखेका तरकारी किसानले बजारमा ल्याउँदा समस्या भएको हो।” कृषि विकास कार्यालय चितवनका सूचना अधिकारी उमराज अर्याल अहिले बजारमा विषादि भएको तरकारी आएको स्विकार्नुहुन्छ। 

“अहिले करेला, बोडी र लौका जस्ता तरकारीको अपसिजन हो। यो बेला बढी विषादि प्रयोग नगरी रोग किराबाट बचाउन सकिँदैन। त्यसैले पनि किसानले जथाभाबी विषादि प्रयोग गरेर तरकारी उत्पादन गरिरहेका छन्,” उहाँले थप्नुभयो, “विषादिको मात्रा हेरेर हप्ता १० दिनदेखि एक्काइस २२ दिनसम्म राख्नुपर्ने तरकारी हतार हतारमा बजार लगिँदा स्वास्थ्यको समस्या पर्ने गरेका छन्।” 

महानगर तरकारी तथा फलफूल बजारभित्र स्थापना गरिएको विषादि परीक्षण ल्याबमा दुई किसिमका विषादि मात्रै परीक्षण गरिन्छ। ल्याबमा कार्बामेट र अर्गानोफस्फेट विषादि परीक्षण गरिन्छ, जुन अहिले खासै प्रयोग हुँदैन। यो विषादिलाई सरकारले प्रतिबन्धसमेत गरेको छ। तरकारी तथा फलफूलमा नयाँ नयाँ किसिमको विषादि प्रयोग बढ्दा त्यसको परीक्षणमा समेत समस्या भएको बताइन्छ। नेपालमा २४ किसिमका विषादिलाई प्रतिबन्ध लगाइएको छ तर पनि लुकीछिपी प्रतिबन्धित विषादिको बिक्री र प्रयोग हुँदै आएको छ। भरतपुरका फिजिसियन डा. भोजराज अधिकारी तरकारीको विषादिले मानिसलाई श्वासप्रश्वास र पेटमा समस्या हुने बताउनुहुन्छ।