सिँचाइमा वैकल्पिक ऊर्जाबारे काठमाडौँमा अन्तर्राष्ट्रिय सम्मेलन हुने
2024-04-20 16:00:30CRI
Share with:

नवीकरणीय ऊर्जाको माध्यमबाट कृषि भूमिमा दिगो सिँचाइ प्रवर्धन गर्ने उद्देश्यले काठमाडौँमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको सम्मेलन हुने भएको छ। वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले अन्तर्राष्ट्रिय पानी व्यवस्थापन संस्था (इमी) र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रसँगको सहकार्यमा वैशाख १० गतेदेखि १४ गतेसम्म उक्त सम्मेलन गर्न लागेको गोरखापत्र अनलाइनले लेखेको छ। 

केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालका अनुसार सम्मेलनको मुख्य उद्देश्य जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा परेको असर न्यूनीकरण गर्ने तथा उत्पादकत्व वृद्धिमा सहयोग पुर्‍याउने रहेको छ। सम्मेलनबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ढकालले भन्नुभयो, “जलवायु परिवर्तनबाट जोगिन विश्वले कस्ता खालका उपाय अपनाइरहेको छ भन्ने विषय पनि हामीले जान्न पाउँछौँ। हामीले गर्दै आएका अभ्यास पनि देखाउने छौँ ।” उहाँका अनुसार केन्द्रले तीन हजार ३४२ वटा सौर्य पम्पिङ आयोजनालाई अनुदान उपलब्ध गराइसकेको छ।  

कार्यक्रममा इमीकी नेपाल प्रतिनिधि डा‌. मनोहरा खड्काले सौर्य सिँचाइ पम्पिङलाई देशैभर विस्तार गर्ने उद्देश्यका साथ यो सम्मेलन गर्न लागिएको जानकारी दिनुभयो। नवीकरणीय ऊर्जामार्फत सिँचाइ विस्तार गरी खाद्य सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले सम्मेलन गर्न लागिको उहाँको भनाइ थियो। नेपालको खास गरी तराई क्षेत्रमा सिँचाइ प्रयोजनामा अधिकांश सिँचाइ पम्पहरू डिजेलबाट सञ्चालन भइरहेको र डिजल खपत प्रतिस्थापन र वातावरणीय संरक्षणका हिसाबले नवीकरणीय ऊर्जा प्रयोगमा ध्यान दिनुपर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो। 

पाँच दिनसम्म हुने सम्मेलनमा ३० देशका १५० भन्दा बढी प्रतिनिधिको उपस्थिति हुने केन्द्रले जनाएको छ। वैशाख १० गते ‘सौर्य सिँचाइसम्बन्धी राष्ट्रिय विज्ञान–नीति संवाद,’ ११ गते ‘हिन्दुकुश हिमालय क्षेत्रमा कृषिमा नवीकरणीय ऊर्जाको उत्पादनमूलक उपयोग वृद्धि’ तथा १२ देखि १४ गतेसम्म ‘समावेशी सौर्य सिँचाइ प्रणालीसम्बन्धी नीति’ का विषयमा छलफल हुने जनाइएको छ।