पूर्वी नाकाबाट जडीबुटी निर्यात बढ्यो
2024-04-24 17:00:18cri
Share with:

नेपालको पूर्वीपहाडी जिल्लामा उत्पादित जडीबुटीको निर्यातमा वृद्धि भएको छ। पछिल्लो समय नेपालको पूर्वीपहाडी जिल्लामा उत्पादित जडीबुटीको भारत, बंगलादेशमा माग बढेसँगै नेपाल प्रवेशको प्रमुख नाका मानिएको झापाको मेचीनगरस्थित काँकडभिट्टा नाकाबाट जडीबुटी निर्यातमा वृद्धि भएको छ।

पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०/०८१ को चैत मसान्तसम्म आठ करोडभन्दा बढी मूल्यको जडीबुटी भारत निकासी भएको मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी तथा भन्सार अधिकृत गणपति कँडेलले जानकारी दिनुभएको छ। पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०/०८१ को चैत मसान्तसम्म आठ करोड ९७ लाख रुपैयाँ मूल्य बराबरको तीन लाख ३३ हजार ६३२ किलोग्राम जडीबुटी निकासी भएको उहाँले बताउनुभयो।

पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०/०८१ को चैत मसान्तसम्म एक करोड ४२ लाख ५१ हजार रुपैयाँ बराबरको ८६ हजार किलोग्राम जडीबुटी बंगलादेश, ६ करोड ४२ लाख ९१ हजार रुपैयाँ मूल्य बराबरको दुई लाख ४७ हजार ८२ किलोग्राम जडीबुटी भारत तथा एक करोड १२ लाख रुपैयाँ मुल्य बराबरको पाँच सय किलोग्राम जडीबुटी इटली निर्यात भएको उहाँको भनाइ छ।

पूर्वीनाका काँकडभिट्टाबाट गत आर्थिक वर्ष २०७९/८० को को चैत मसान्तसम्म तीन करोड ८६ लाख ३८ हजार रुपैयाँ मूल्य बराबरको २० लाख ८ हजार २६४ किलोग्राम नेपाली जडीबुटी निर्यात भएको थियो। अघिल्लो आर्थिक वर्ष २०७९/०८० को नौ महिनाको तुलनामा चालु आर्थिक वर्ष २०८०/०८१ को सोही अवधिमा पाँच करोड ११ लाख रुपैयाँ बढीका एक लाख २५ हजार ६६८ किलोग्राम नेपाली जडीबुटी निर्यात भएको उहाँले भन्नुभयो।

अघिल्लो आर्थिक वर्ष २०७९/०८० को नौ महिनामा एक करोड १६ लाख रुपैयाँ मूल्य बराबरको ६७ हजार २४५ किलोग्राम जडीबुटी बंगलादेश, दुई करोड ५७ लाख रुपैयाँ मूल्य बराबरका एक लाख ३५ हजार ५४९ किलोग्राम जडीबुटी भारत र १२ लाख ५६ हजार रुपैयाँ मूल्य बराबरका पाँच हजार ४७० किलोग्राम नेपाली जडीबुटी भियतनाम निर्यात भएको कारोबार दैनिकले लेखेको छ।

पछिल्लो समय भारतले विभिन्न बहानामा नेपालका कृषि तथा कृषिजन्य वस्तुको आयातमा अवरोध गरे पनि विभिन्न प्रकारका समस्या र अवरोधका बाबजुद पनि नेपालको पूर्वीपहाडी जिल्लामा उत्पादित जडीबुटीको निर्यातमा वृद्धि भएको खुशीको कुरा भएको उहाँले बताउनुभयो।

पूर्वीनाका काँकडभिट्टाबाट बंगलादेश, भारत, इटली र भियतनामलगायतका मुलुकमा नेपाली जडीबुटी निर्यात हुने गरेको बताउँदै उहाँले नेपालका पूर्वीपहाडी जिल्लामा उत्पादित जडीबुटी चिराइतो, मञ्जिथा, विशजारा, जट्टामसी, चुत्थ्रोजातका नेपाली जडीबुटी सबैभन्दा बढी निकासी भइरहेको जनाउनुभयो। औषधी, साबुन, स्याम्पुजस्ता सामग्री बनाउन प्रयोग गरिने यी जडीबुटी भारतमा मात्र नभई बंगलादेशजस्ता तेस्रो मुलकमा पनि निर्यात भइरहेको उहाँको भनाइ छ।

नेपालले जडीबुटी निकासीमा आन्तरिक तथा बाह्य क्षेत्रबाट झेल्नुपरेको अनेकौँ कठिनाइका बाबजुद नौ महिनामा यति ठूलो परिमाणमा जडीबुटी निकासी गर्न सफल हुनु सकारात्मक भएको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताउनुभयो। विविध कारणले जडीबुटी निकासी हरेक वर्ष घट्दै गए पनि यो वर्षबाट पुनः उकालो लाग्ने संकेत मिलेको उहाँको भनाइ छ।