हिमाल आरोहण गर्दै ५७ देशका आरोही
2024-04-24 16:58:50cri
Share with:

वसन्त याममा हिमाल आरोहण गर्न नेपालसहित ५७ देशका नागरिकले अनुमति लिएका छन्। पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार विभिन्न २६ हिमाल आरोहणका लागि ५७ देशका ७६७ जना आरोहीले आरोहण अनुमति लिएका हुन्।

उहाँले भन्नुभयो, “यस वर्षको हिमाल आरोहणतर्फ अनुमति लिनेमा ८६ समूहका १६३ महिला र ६०४ जना पुरुष रहेका छन्। अनुमति लिएका मध्ये सबैभन्दा बढी अमेरिका र चीनबाट रहेका छन्।”

आरोहणका लागि सबैभन्दा बढी अमेरिकाबाट ६६ जना, चीनबाट ६४, बेलायतबाट ३०, भारतबाट २२, जापानबाट १९ र रसियाबाट १७ जना रहेको उहाँले जानकारी दिनुभयो। विभागको तथ्याङ्क अनुसार यस वर्ष सबैभन्दा बढी सगरमाथा आरोहण गर्न हालसम्म ३६४ जनाले अनुमति लिएका छन्। अनुमति लिनेमध्ये ३४ समूहका ६८ महिला र २९६ पुरुष रहेका छन्।

वसन्त याममा सगरमाथा आरोहणका लागि उपयुक्त मानिने भएकाले सगरमाथा आरोहण गर्नेको सङ्ख्या सबैभन्दा बढी रहेको विभागले जनाएको छ। अघिल्लो वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि मात्रै ४७८ ले अनुमति लिएका थिए।

सगरमाथा पछि सबैभन्दा बढी अमादब्लम आरोहणका लागि सात समूहका ६३ पुरुष र १७ महिला गरी ८० जनाले अनुमति लिएका छन्। त्यसै गरी लोत्सेका लागि ७५ जना, मकालु पहिलोका लागि सबैभन्दा बढी ४५ जनाले अनुमति लिएका छन्। सगरमाथा आरोहण शुल्कबापत मात्रै सरकारलाई ५२ करोड ३२ लाख ६० हजार ९९९ रुपियाँ हिमाली दस्तुर (राजस्व) प्राप्त भएको छ। त्यस्तै २६ वटै हिमालमा दिएको अनुमतिबापत ५८ करोड २४ लाख ७९ हजार ८३० रुपियाँ राजस्व सङ्कलन भएको गोरखापत्र अनलाइनले लेखेको छ।