गोरखा भूकम्पको ९ वर्ष पूरा
2024-04-24 16:57:37cri
Share with:

वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको छ। २०७२ वैशाख १२ गते मध्यान्ह ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्र बनाएर ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो। सो भूकम्पमा आठ हजार ९७० जनाले ज्यान गुमाएका थिए भने २२ हजार भन्दा बढी घाइते भएका थिए। 

भूकम्पबाट पाँच लाख ११ हजार ३९० घर पूर्ण रूपमा क्षति भएको थियो भने दुई लाख ८६ हजार ७६७ घरमा आंशिक क्षति पुर्‍याएको थियो। सो विनाशकारी भूकम्पको नौ वर्ष पूरा भएको छ। सो दिनको स्मृतिमा बुधबार भूकम्प स्मृति दिवस मनाइँदैछ।

उक्त विनाशकारी भूकम्पको सम्झना गर्दै बुधबार विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरी सो दिवस मनाइँदै छ। यसै सन्दर्भमा भूकम्पीय जोखिम न्यूनीकरणका लागि सचेतना फैलाउने उद्देश्यले खानी तथा भूगर्भ विभागले बुधबार बृहत् फोटो प्रदर्शनी प्रदर्शनीको आयोजना गरेको छ।

उक्त विनाशकारी भूकम्प गएको दिनको सम्झनामा खानी तथा भूगर्भ विभागमा फोटो खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको आयोजना तथा महिला पत्रकारहरूको संस्था ’संवाहिका समाज नेपाल’को सह–आयोजनामा फोटो प्रदर्शनी भएको हो।

उ‌द्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्नुभएको प्रदर्शनीमा २०७२ को र २०८० सालमा जाजरकोट लगायतका स्थानमा गएका भूकम्पहरूबाट भएको क्षति तथा समाज र भूगोलमा आएका परिवर्तनका दृश्यहरू समावेश गरिएको छ। प्रदर्शनीमा ५५ वटा फोटो राखिए छन्।

यसै बीच गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज बुधबार बारपाक सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा दिइएको छ। बारपाकमा मात्रै ७२ जनाले ज्यान गुमाएका थिए।