कोरला नाकामा नेपाल प्रहरी र चिनियाँ प्रहरीको संयुक्त गस्ती
2024-04-25 16:54:51cri
Share with:

 

हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो थलो लोमन्थाङ गाउँपालिकामा पर्ने कोरला नाकाको सीमा क्षेत्रमा हुने सीमा अपराध रोक्न नेपाल प्रहरी र चिनियाँ प्रहरीले संयुक्त गस्ती सुरु गरेका छन्।

कोरोला नाकास्थित २४ नम्बर पिल्लरबाट पश्चिम २३ नम्बर पिल्लरसम्मको सीमा क्षेत्रबाट हुन सक्ने अपराध नियन्त्रण र न्यूनीकरण गर्न संयुक्त पैदल गस्ती गरिएको ईकान्तिपुरले लेखेको छ।

गस्तीमा नेपाल प्रहरीको लोमन्थाङस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक शुशिल लामिछानेको कमाण्डमा ८ सदस्यीय टोली र चिनियाँ प्रहरीको तर्फबाट लिजी प्रहरी कार्यालयका प्रमुख सवइनिस्पेक्टर टेस्डर दोर्जेको कमाण्डमा ८ प्रहरी सहभागी थिए।

‘सडक पहुँचदेखि बाहिर हिमालमुनिको क्षेत्रमा पर्ने २३ नम्बर पिलर क्षेत्रबाट अपराधिक गतिविधिमा हुन सक्ने सुचनाको आधारमा संयुक्त गस्ती गरिएको हो,' जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले भन्नुभयो, ‘सीमा क्षेत्रमा हुने संयुक्त गस्तीले सीमा अपराध नियन्त्रण हुने विश्वास छ। र संयुक्त गस्ती निरन्तर रहने छ।’

मुस्ताङको चीनको स्वशासित तिब्बतसँग १८ देखि ३३ सम्म १६ वटा सीमास्तम्भले १३४.१६ किलोमिटर अन्तरार्ष्ट्रिय सीमा जोडिएको छ। त्यहीबीचको २४ नम्बर सीमा स्तम्भ रहेको स्थान कोरोला नाका हो। कोरोला नाकामा रहेको २४ नम्बरको सीमा स्तम्भपारी निर्मित भव्य चिनियाँ सुख्खा बन्दरगाह र जोडिएको चिल्लो चौडा सडक ढोङ्वासेनदेखि केही परको सिगात्सेबाट आएको ‘चाईना नेसनल हाईवे २१९’ मा पुगेर जोडिन्छ।

मुस्ताङका चारै दिशाको सीमाना हिमालले छुट्याउँछन्। पूर्वमा मुक्तिनाथ हिमाल र दामोदर हिमालले मनाङ जिल्ला, पश्चिममा मुकुट हिमालले डोल्पासँग, दक्षिणमा निलगिरी साउथ र धौलागिरी हिमालले म्याग्दीसँग र उत्तरमा मुस्ताङभोट हिमाल (धाङधुङमर)ले चीनको तिब्बतसँग सीमा जोडिएको छ।