चिनियाँ ठेकेदार कम्पनीद्वारा मुग्लिन–पोखरा सडकमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरी पुल बनाइँदै
2024-04-26 17:02:37cri
Share with:

सडक निर्माणमा लागिरहेको चिनियाँ ठेकेदार कम्पनी आनहुई काइयुआन हाइवे एण्ड ब्रिज कम्पनीले निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने भएको छ। यहाँका म्याग्दे, कोत्रे, कुम्लेखोला र विजयपुरमा पुल निर्माणका लागि प्रिकाष्ट प्रविधिको प्रयोग गर्न लागेको राससले जनाएको हो।

निर्माण कम्पनीले तनहुँको म्याग्दे खोलामाथि प्रिकाष्ट प्रविधिबाट पुल राख्न सुरु गरेको चाइनिज कन्ट्रयाक्टरका इन्जिनियर अनुप श्रेष्ठले जानकारी दिनुभयो। निर्माणलाई तीव्रताका साथ अघि बढाइएको बताउँदै उहाँले हालसम्म २३ प्रतिशत काम भएको जानकारी दिनुभयो। निर्माणमा कतिपय ठाउँमा खानेपानीका पाइप, बिजुलीका पोलले समस्या पारेको पनि बताउनुभयो।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले निर्माणाधीन मुग्लिन–पोखरा सडकखण्डको अनुगमन गर्नुभएको छ। सञ्चारकर्मीसहित महानगरप्रमुख आचार्यले चिनियाँ निर्माण कम्पनीका प्रतिनिधिसँग निर्माणाधीन सडकको अवस्थाका साथै प्रिकाष्ट प्रविधिमार्फत म्याग्दे खोलामा राख्न लागिएको पुललगायतका विषयमा जानकारी लिनुभएको थियो।

आवतजावत सहज बनाउन यथाशक्य चाँडो सडक निर्माण सम्पन्न गर्न सम्बद्ध निर्माण कम्पनी एवं सरोकारवाला निकायसँग निरन्तर छलफल गरिरहेको उहाँले बताउनुभयो।