मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु
2024-04-26 17:06:43cri
Share with:

विकट जिल्ला मनाङमा औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट सुरु गरिएको छ। यहाँका धेरै खर्कमा यार्सागुम्बा पाउने भए पनि खोज्न भने नासों गाउँपालिका–८ ताचैस्थित नाम्केबाट सङ्कलन थालिएको हो।

यही वैशाख १० गतेदेखि नाम्के खर्कबाट करिब दुई सय जना यार्सागुम्बा सङ्कलनको अनुमति लिएर खर्कतर्फ गएका छन्। अनुमतिपत्रबिना औषधीय जडीबुटी सङ्कलन गर्न पाइँदैन। त्यसले गर्दा अनुमति लिएपछि मात्रै खर्कतर्फ जान दिइने गरिन्छ।

संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष एवं नासों–८ का वडाध्यक्ष याद घलेले यार्सा पाइने नजिकको खर्कबाट वैशाख १० गतेबाट सङ्कलन सुरु हुने जानकारी दिनुभयो। उहाँका अनुसार मनाङमा यार्सागुम्बा सङ्कलन थालिने पहिलो गन्तव्य नाम्के खर्क हो। खर्कबाट यार्सागुम्बा सङ्कलन गर्न अनुमति दिने निर्णय बमोजिम सङ्कलकलाई अनुमति दिइएको उहाँले बताउनुभयो। 

मनाङमा वैशाखदेखि असार मसान्तसम्म यार्सागुम्बा सङ्कलन गर्ने उपयुक्त समयका रूपमा लिइन्छ। मनाङको नाम्ग्य खर्क, किन्चो लेक, याक खर्क, पिसाङ लेक, फु लेकलगायतका खर्कमा यार्सागुम्बा बढी पाइने स्थान हुन्। यार्सागुम्बा सङ्कलन कार्य नाम्ग्य खर्कबाट सुरु भई नार, फु र माथिल्लो मनाङको खाङ्सार खर्कमा सकिने छ। असारको पहिलो सातासम्म यार्सागुम्बा सङ्कलन कार्य सकिन्छ।

यार्सागुम्बा खोज्ने क्रममा विसं २०६६ मा नारस्थित नाम्ग्य खर्कमा गोरखाका सात जनाको स्थानीयले हत्या गरेका थिए। त्यसपछि सुरक्षा चुनौतीका कारण मनाङको साविकको नार र फुगाउँ विकास समितिमा यार्सागुम्बा सङ्कलन रोकिएको राससले जनाएको छ। अहिले त्यस्ता घटना दोहोरिन नदिन अन्य जिल्लाका सङ्कलकलाई अनुमति दिइँदैन।  

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले अहिले यार्सागुम्बा सङ्कलन गरिने भए पनि बाह्य जिल्लाका सङ्कलकलाई अनुमति नदिइएको बताउनुभयो। यार्सागुम्बा सङ्कलनका लागि अनुमति लिन प्रतिव्यक्ति रु ३५ हजार शुल्क तोकिएको उहाँले जानकारी दिनुभयो।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयले यार्सागुम्बा सङ्कलनका लागि स्वीकृति दिएपछि मात्रै सङ्कलन गर्न खर्क पस्न पाउने हुन्छ। मनाङसँगै लमजुङ, गोरखा र धादिङका स्थानीय यार्सागुम्बा सङ्कलन गर्न मनाङका लेक पुग्छन्। नार घटनापछि एक्याप मनाङले यार्सागुम्बा सङ्कलनलाई व्यवस्थित बनाउँदै लगेको छ। सोही अनुरुप बाहिरी जिल्लाका सङ्कलकलाई अनुमति दिइँदैन।