नेपाली पर्वतारोही कामीरिता शेर्पा २९औं पटक सगरमाथा चढ्दै
2024-04-27 16:05:23cri
Share with:

विश्वको अग्लो शिखर सगरमाथामा सबैभन्दा धेरै पटक सफल आरोहण गरिसकेका विश्वप्रख्यात आरोही कामीरिता शेर्पा आफ्नै २८ औं किर्तिमान ब्रेक गर्न सगरमाथा आधार शिविर पुग्नुभएको छ। पर्यटन विभागका अनुसार, उहाँले विदेशी भीभीआईहरुको समूहको गाइडका रुपमा यसपाली २९ औं पटकका लागि सगरमाथा आरोहण गर्न लाग्नुभएको हो।

 

शुक्रबार सगरमाथा आधारशिविर पुगेका सेभन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पाले लुक्लाबाट बताएअनुसार यसपाली सेभेन समिट र फोर्टीन पिक्स एक्सपिडिसन गरी दुइटा कम्पनीका सदस्यहरुलाई सगरमाथा आरोहण पनि गराउने कार्यक्रम छ। ५४ वर्षीय कामीरिताले यसपटक मौसम अनुकूल भए दुईपटक सगरमाथा आरोहण गर्नसक्ने मनसाय बनाउनुभएको छ।

 

सोलुखुम्बुको थामेका शेर्पाका नाममा गत वर्षको वसन्तकालीन याममा आफ्नो २७ औं पटकको रेकर्ड ब्रेक गर्दै २८ औं पटक सगरमाथा चुचुरोमा पुगेर विश्वकै सर्वाधिक सगरमाथा आरोहण गर्ने व्यक्तिको रेकर्ड छ। कामीरितापछि सगरमाथामा सर्वाधिक आरोहण गर्नेमा सोलुखुम्बुको पाङ्बोचेका ४७ वर्षीया पासाङ दावा (पादावा) शेर्पाको २७ औं पटकको रेकर्ड छ।

यसैबीच संसारकै सबैभन्दा होचो व्यक्तिको नाममा सगरमाथा आरोहणको रेकर्ड बनाउन कास्कीका सागर सुनार (विश्वकर्मा) शुक्रबार काठमाडौंबाट सगरमाथातर्फ लागेको कान्तिपुर अनलाइनले जनाएको छ। दुई वर्षको अन्तरालपछि दोस्रो सगरमाथा आरोहणको प्रयास गरेका उहाँ तीन फिट सात इन्च उचाइको हुनुहुन्छ। विभागले शुक्रबारसम्म नेपालसहित ८० मुलुकका ८ सय ६१ आरोहीहरुलाई हिमाल आरोहणको अनुमति जारी गरिसकेको छ । जसमा सगरमाथा आरोहणका लागि मात्रै ३७ वटा आरोहण दललाई अनुमति दिइएको छ । जसमा ७० महिला र ३ सय २० पुरुष गरी ३ सय ९० सदस्य छन् । यीबाट विभागले ५५ करोड ८५ लाख रुपैयाँ सलामी दस्तुर संकलन गरिसकेको छ ।