मे १ देखि नेपालीलाई नियमित चिनियाँ भिसा नि:शुल्क
2024-04-28 16:54:41cri
Share with:

चीनले आगामी मे १ देखि नेपाली नागरिकलाई नियमित भिसा नि:शुल्क दिने भएको छ। चिनियाँ दूतावासले बुधबार बिहान एक सूचना जारी गर्दै नियमितर्फको भिसा शुल्क तिर्नुनपर्ने जनाएको हो।

 

कान्तिपुर अनलाइनका अनुसार एक्सप्रेस-२ र एक्प्रेस-१ भिसाका लागि भने क्रमश: २ हजार ७ सय र ४ हजार रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै समूहतर्फ एक्सप्रेस-२ र एक्प्रेस-१ भिसा क्रमश: १ हजार ३ सय ५० र २ हजार रुपैयाँ तिर्नुपर्नेछ ।

 

तेस्रो अन्तर्राष्टिय लगानी सम्मेलनमा चाइना इन्टरनेसनल डेभलपमेन्ट कर्पोरेसन एजेन्सी (सीआईडीसीए) प्रमुख लुओ चाओहुईले मे १ देखि लागू हुने गरी नेपाली नागरिकहरूलाई नियमिततर्फ भिसा शुल्क तिर्नु नपर्ने बताउनुभएको थियो।

 

त्यस्तै सम्बोधनका क्रममा उहाँले चीन-नेपाल सम्बन्ध थप उचाइमा पुग्ने पनि बताउनुभयो। 'चीन र नेपाल हातमा हात र कुममा कुम मिलाएर अघि बढ्छौं । नेपालको आर्थिक सामाजिक विकासमा चीनले निरन्तर सहयोग गर्दै आएको छ । यसमा थप सहयोग हुन्छ,' उहाँले भन्नुभयो।

 

प्रमुख लुओ चाओहुईको सम्बोधनलगत्तै चिनियाँ दूतावासले एक सूचना जारी गर्दै भिसा शुल्कसम्बन्धी नयाँ नीतिबारे जानकारी दिएको हो । उक्त सूचना नेपालका लागि चिनियाँ राजदूत छन सोङले पनि एक्समा पोस्ट गर्नुभएको छ।