
चाइना इन्टरनेसनल डेभलपमेन्ट कर्पोरेसन एजेन्सी (सीआईडीसीए) का प्रमुख लुओ चाओहुईले नेपालमा लगानी गर्नका लागि चिनियाँ लगानीकर्तालाई प्रेरित गर्ने बताउनु भएको छ। नेपालमा चालु तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उद्घाटन सत्रमा बोल्दै लुओले भन्नुभयो, ‘अहिलेको भूरानीतिक चुनौतिको अवस्थामा नेपालमा विकासका लागि लगानीको आवश्यकता छ।’ उहाँले नेपाल सुन्दर देश भएको उल्लेख गर्दै चीन विकास र सहकार्य गर्न तयार रहेको प्रष्ट पार्नु भएको कान्तिपुर अनलाइनले लेखेको छ।
उहाँले सन् २०१९ को अक्टोबरमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको नेपाल भ्रमण भएको र उक्त अवसरमा हिमालय वारपार कनेक्टिभिटीको सहकार्य भएको पनि उल्लेख गर्नुभयो। नेपालीहरुसँग ‘हातमा हात र काँधमा काँध’ मिलाएर काम गर्न चीन तयार रहेको उहाँको भनाइ छ। उहाँले त्यसले चीन र नेपालको सम्बन्ध बलियो बनाउने पनि उल्लेख गर्नुभयो।
त्यस अघि बोल्दै नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल र चीन बीचको सम्बन्ध इतिहासदेखि नै सुमधुर रहेको बताउनुभयो। उहाँले भन्नुभयो,‘चीनले नेपालको आर्थिक तथा सामाजिक क्षेत्रमा सहयोग गरेको छ।’ उहाँले नेपालले आर्थिक र विकासको क्षेत्रमा नयाँ यात्राको सुरुआत गर्न लागेको पनि बताउनुभयो।


