उद्योगमन्त्री भण्डारी र तिब्बत जनसरकारका उपाध्यक्ष फुकुआनबिच भेट
2024-04-30 15:51:20cri
Share with:

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बत जनसरकारका उपाध्यक्ष लाङ फुकुआनबिच भेटवार्ता भएको छ। सिंहदरबारस्थित उद्योग मन्त्रालयमा भएको भेटमा उद्योगमन्त्री भण्डारीले नेपाल र चीनको तिब्बत क्षेत्रबिचको सम्बन्ध हिमाल र नदीहरुबाट जोडिएको भन्दै दुई देशको कूटनीतिक सम्बन्ध स्थापना हुनुभन्दा पहिलेदेखि नै विभिन्न तह तथा क्षेत्रमा सम्बन्ध एवम् सहकार्य रहँदै आएको धारणा राख्नुभयो। साथै उहाँले नेपाल एक चीन नीति तथा चीनको शान्ति, स्थायित्व एवम् विकासलाई प्रवर्द्धन गर्ने आफ्नो समर्पणप्रति प्रतिबद्ध रहेको बताउनुभयो ।

 

भेटमा मन्त्री भण्डारीले नेपालले बिआरआईमा सहकार्य गर्दै आएको भन्दै यसअन्तर्गत भौतिक पूर्वाधार विकास तथा अन्तरआबद्धताका विविध क्षेत्रमा लाभ लिन नेपाल प्रयासरत रहेको धारणा राख्नुभयो । उहाँले नेपाली उत्पादनहरुको चीनमा सहज पहुँच, दुवै देशका व्यापारिक बिन्दुलाई व्यवस्थित गर्ने, चीनको भन्सार र क्वारेण्टिन प्रक्रियाका बारेमा नेपाली निर्यातकर्ताहरुलाई चीन सरकारबाट सहजीकरण गरिदिन समेत भेटमा आग्रह गर्नुभएको छ। मन्त्री भण्डारीले भन्नुभयो, ‘‘नेपालसँग सीमाना जोडिएका चीनको सिजाङका प्रमुख भन्सार बिन्दुहरुमा चेकजाँच गर्ने प्रयोगशालाको सुविधा चीनबाट हुन सकेको खण्डमा नेपाली वस्तुहरुको चिनियाँ बजारमा पहुँच विस्तारलाई अझै सहज र सरल बनाउने विश्वास मैले लिएको छु ।’’

भेटमा तिब्बत जनसरकारका उपाध्यक्ष लाङ फुकुआनले नेपाल सरकारले सफलतापूर्वक लगानी सम्मेलन सम्पन्न गरेकोमा बधाइ दिनुहुँदै चिनियाँ लगानिकर्ताहरु नेपालमा लगानिका इच्छुक रहेको धारणा राख्नुभयो । उहाँले नेपाल र चीनबिच पछिल्लो समय उच्चस्तरिय द्विपक्षीय भ्रमणहरु भएको भन्दै त्यसले दुई देशको सम्बन्ध मजबुत गर्न सहयोग पुग्ने बताउनुभयो। उपाध्यक्ष फुकुआनलले मन्त्री भण्डारीले उठाएका विषयहरु समाधान गर्न प्रयास गर्ने भन्दै चीन सामुहिक हित र समृद्धिका लागि नेपालसँग मिलेर काम गर्न इच्छुक रहेको धारणा राख्नुभयो। गोरखापत्र अनलाइन