लगानी सम्मेलन सम्पन्न, आठ वटा लगानी समझदारीमा हस्ताक्षर
2024-04-30 15:52:56cri
Share with:

नेपाललाई अन्तर्राष्ट्रियस्तरमा लगानीको उदाउँदो गन्तव्यका रूपमा परिचित गराउने लक्ष्यसहित आयोजना गरिएको तेस्रो लगानी सम्मेलन सम्पन्न भएको छ । दुई दिनको अवधिमा विभिन्न आठ वटा समझदारी पत्रमा हस्ताक्षर गरेर सोमबार सम्मेलनको औपचारिक समापनको घोषणा गरिएको हो । 

 

सम्मेलनको सचिवालयका रूपमा रहेको लगानी बोर्डको कार्यालयका अनुसार सम्मेलनको पहिलो दिन आइतबार दुई वटा लगानीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो। सम्मेलनको उद्घाटन सत्रकै क्रममा भारतको योट्टा डेटा सर्भिसेज र नेपालको बिएलसी होल्डिङ्सबिच करिब तीन अर्ब रुपियाँमा नेपालमा डेटा सेन्टर स्थापना गर्ने समझदारी भएको हो । सहमति अनुसार दुवै कम्पनीको संयुक्त लगानीमा काठमाडौँको रामकोटमा उक्त डेटा सेन्टर निर्माण हुने छ । सोही क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ र मलेसियाको नेसनल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज अफ मलेसियाबिच व्यापार प्रवर्धनमा सहकार्य गर्ने समझदारी पनि भएको थियो ।

 

सम्मेलनको दोस्रो दिन अर्थात् सोमबार नेपालमा सार्वजनिकनिजी साझेदारी (पिपिपी) प्रवर्धनका लागि वल्र्ड एसोसिएसन अफ पिपिपी युनिट्स एन्ड प्रोफेसनल्स (वाप) र नेपाल एसोसिएसन अफ पिपिपी प्रोफेसनल्स अफ प्राक्टिस्नर्स(नाप) बिच द्विपक्षीय सहकार्यसम्बन्धी समझदारी भएको छ । समझदारीपत्रमा वापकातर्फबाट अध्यक्ष जियादअलेक्स्यान्डर हायक र नापकातर्फबाट अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गर्नुभयो। दुवै संस्थाले साझा चासोका विषयमा सहकार्य गर्ने, सार्वजनिकनिजी साझेदारी (पिपिपी) सम्बन्धी ज्ञान तथा अनुभव आदानप्रदान गर्ने समझदारीमा उल्लेख छ । त्यस्तै साखः एन्ड कम्पनी प्राइभेट लिमिटेड र बोर ग्रुप अफ होटल चाइनाबिच होटल व्यवसायमा सहकार्य गर्ने समझदारी पनि भएको छ । समझदारी अनुसार करिब दुई अर्ब रुपियाँ संयुक्त लगानीमा कपिलवस्तुको गोरुसिंगेमा होटल स्थापना हुने छ ।

नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्राइभेट लिमिटेड र चीनको एमएबिसी इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड बिच पनि लगानीसम्बन्धी समझदारी भएको छ । समझदारी अनुसार नेक्सजेनले एमएबिसीको माउ कम्पनीलाई नेपालमा वैदेशिक लगानी गर्नका लागि सहजीकरण गर्ने छ भने एफएनआइसीले चाइना दोङ्गन जिङ लङलाई सहजीकरण गर्ने छ। यसबाहेक नेपाल उद्योग व्यापार महासङ्घ (एफएनआइसी) र चाइना दोङ्गन जिङ लङ लाइटिङ प्रडक्ट कम्पनी लिमिटेडबिच नेपालमा लगानी प्रवर्धनका लागि सहकार्य गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

 

महासङ्घले नै सोमबार इन्डियन इन्डस्ट्रिज एसोसिएसन (आइआइए) बिच द्विपक्षीय सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ। नेपाल र भारतबिचको लगानी, व्यापार तथा उद्योग क्षेत्रमा आपसी सहकार्य तथा हित प्रवर्धनका लागि सहकार्य हुने समझदारी पत्रमा उल्लेख छ। सम्मेलनकै क्रममा मुगुको राराताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट खोल्नका लागि समझदारी पनि भएको छ। रारास्थित मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा निर्माण गरिने रिसोर्टका लागि समझदारीमा हस्ताक्षर भयो।

 

सम्मेलनको समापन कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा लगानी प्रवर्धनका लागि सबै राजनीतिक दल एक मत रहेको सन्देश प्रवाह गर्न सम्मेलन सफल भएको बताउनुभयो। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सम्मेलनबाट नेपाल लगानीका लागि आकर्षक गन्तव्य रहेको स्पष्ट सन्देश प्रवाह भएको बताउनुभयो । लगानीको संरक्षण र लगानीको मुनाफा लैजाने सन्दर्भमा सरकार प्रस्ट रहेको र लगानीकर्ताको सहजताका लागि कानुन सुधारमा लचिलो रहेको उहाँको भनाइ थियो।

बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले दुई दिनको सम्मेलनमा नेपालसहित ५५ देशका दुई हजारभन्दा बढीले सहभागिता जनाएको जानकारी दिनुभयो । त्यसमध्ये करिब आठ सय विदेशीको सहभागिता रहेको उहाँले उल्लेख गर्नुभयो। सम्मेलनका क्रममा १९ वटा आशयपत्र माग गरिएका परियोजनासहित कुल १५२ वटा परियोजनाहरू सोकेसमा राखियो। सोमबार मात्रै नवीकरणीय ऊर्जा, नवप्रवर्तनात्मक वित्तीय वातावरण, हरित र उत्थानशील व्यवसायमा लगानी अवसर, सबल पूर्वाधार र परिवहन निर्माण, हरित वित्त, पर्यटनमा लगानी, कृषिको निर्यात सम्भावना, उत्पादनमूलक क्षेत्र, स्टार्टप प्रवर्धन, आइसिटीमा लगानीको अवसर, पूर्वाधार र सेवा क्षेत्रमा सार्वजनिक निजी साझेदारी विषयमा छुट्टाछुट्टै छलफल सत्र भएको थियो । त्यसअघि पहिलो दिन उद्घाटन सत्रसहित नेपालका लगानीको अवसर र नेपालमा लगानीका सफलताका कथा विषयक सत्रमा सरोकारवालाबिच छलफल भएको थियो ।

गोरखापत्र अनलाइनका अनुसार सम्मेलनको क्रममा उद्योग विभागले स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत हुने प्रणाली कार्यान्वयनमा ल्याउँदै नौ अर्ब १३ करोड रुपियाँ बराबरको लगानी स्वीकृत गरेको छ । छ अर्ब रुपियाँभन्दा कमको लगानीमा स्वीकृति दिने क्षेत्राधिकार पाएको विभागले नयाँ प्रणालीमार्फत सो बराबरको स्वीकृति दिएको हो। सम्मेलनकै क्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले तीन जना लगानीकर्तालाई स्वीकृतिको पत्र हस्तान्तरण गर्नुभएको हो। जसअनुसार चिनियाँ लगानीको कम्पनीको लगानी ६ अर्ब रुपियाँको लगानी स्वीकृत भएको छ । त्यस्तै अस्ट्रेलियाको एस एन्ड जेजी इन्भेस्टमेन्ट कम्पनीको तीन अर्ब र एचिलस इनर्जी युकेको करिब साढे १३ करोडको लगानी स्वीकृत भएको विभागले जनाएको छ ।

 

यस्तै तेस्रो लगानी सम्मेलन सफल भएको अर्थमन्त्री वर्षमान पुनले बताउनुभएको छ । सम्मेलनका क्रममा आयोजित साइडलाइन बैठकमा विदेशी दातृ निकायका प्रतिनिधिसँगको छलफलमा उहाँले दातृ निकायसहित विदेशी लगानीकर्ताको उल्लेख्य उपस्थितिका कारण सम्मेलन सफल भएको बताउनुभएको थियो ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम, विश्व बैङ्क, एसियाली विकास बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रतिनिधि तथा नेपालस्थित विभिन्न देशका राजदूत सहभागी उक्त छलफलमा अर्थमन्त्री पुनले नेपालमा लगानीको पर्याप्त सम्भावना र अवसर रहेको र सरकारले लगानीसम्बन्धी वातावरण थप सुधार गरेर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।