चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब
2024-05-01 15:59:45cri
Share with:

शिथिलताबिच पनि चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालको अर्थतन्त्रमा सुधार आउने देखिएको छ। खासगरी सेवा क्षेत्र विस्तार हुँदा अर्थतन्त्रले सुधारको गति लिने राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुमान छ। कार्यालयले मङ्गलबार सार्वजनिक गरेको राष्ट्रिय लेखा अनुमानले अर्थतन्त्रमा ३.८७ प्रतिशतको वृद्धि भई अर्थतन्त्रको आकार साढे तीन खर्बले बढ्ने प्रारम्भिक अनुमान गरेको हो। त्यससँगै मुलुकको अर्थतन्त्रको कुल आकार उपभोक्ता मूल्यमा ५७ खर्ब चार अर्ब पुग्ने अनुमान कार्यालयको छ। गत आवमा नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब ४८ अर्ब रहेको संशोधित अनुमान गरिएको छ

 

चालु आवको आठ महिनासम्मको तथ्याङ्कलाई आधार मानेर बाँकी अवधिमा पनि अर्थतन्त्र सामान्य रूपमै अघि बढ्ने अनुमानका आधारमा राष्ट्रिय लेखा तथ्याङ्क तयार गरिएको कार्यालयका सचिव अर्जुन पोखरेलले जानकारी दिनुभयो। अर्थतन्त्रलाई १८ वटा क्षेत्रमा विभाजन गरी गरिएको अनुमानले अधिकांश क्षेत्रमा प्रगति भइरहेको देखिएको उहाँले बताउनुभयोविगतको तुलनामा धेरै सुधार देखिएको छ। अर्थतन्त्रमा समस्या रहेको चर्चाबिच सुधार आउनु सकारात्मक कुरा हो,” उहाँले भन्नुभयो। गत आवमा नेपालले १.९५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको कार्यालयले संशोधित अनुमान गरेको छ

 

गोरखापत्र अनलाइनका अनुसार औद्योगिक समूह अनुसार चालु आवमा सेवा क्षेत्रको वृद्धिदर सबैभन्दा धेरै हुने अनुमान गरिएको छ। अर्थतन्त्रमा ६२.९ प्रतिशत योगदान रहने अनुमान गरिएको यस क्षेत्रको वृद्धिदर ४.५० प्रतिशत हुने प्रारम्भिक अनुमान छ, जुन अर्थतन्त्रको वृद्धिदरको तुलनामा बढी हो। यसबाहेक कृषि तथा खानी क्षेत्र समेटिने प्राथमिक क्षेत्रको वृद्धिदर ३.०३ प्रतिशत हुने अनुमान गरिएको छ। गत आवमा यस क्षेत्रको वृद्धिदर केवल २.७२ प्रतिशत रहने अनुमान थियो। उत्पादन क्षेत्र समेटिने द्वितीय क्षेत्रको वृद्धिदर सबैभन्दा न्यून अर्थात् १.२० प्रतिशत हुने अनुमान छ, जुन गत आवको तुलनामा अझ कम हो। गत आवमा यस क्षेत्रको वृद्धिदर १.४० प्रतिशत हुने अनुमान गरिएको छ

यसैबीच चालु आवमा उद्योग र निर्माणको क्षेत्रको वृद्धिदर ऋणात्मक हुने अनुमान गरिएको छ। कुल १८ वटा क्षेत्रमा गरिएको औद्योगिक वर्गीकरण अन्तर्गतका उद्योग क्षेत्रको वृद्धिदर १.६० प्रतिशतले ऋणात्मक हुने अनुमान छ। त्यस्तै निर्माण क्षेत्रमा पनि २.०७ प्रतिशतको ऋणात्मक वृद्धिदर हुने अनुमान गरिएको छ। समीक्षा वर्षमा सबैभन्दा धेरै आवास तथा भोजन सेवाको २१.८४ प्रतिशत, विद्युत् ग्यासको १७.४४ प्रतिशत, यातायात तथा भण्डारण सेवाको ११.८९ प्रतिशत, वित्तीय तथा बिमासम्बन्धी सेवाको ७.८० र मानव स्वास्थ्य तथा सामाजिक कार्यका क्रियाकलापको ५.५२ प्रतिशत वृद्धिदर हुने अनुमान छ। यसबाहेक बाँकी क्षेत्रहरूको वृद्धिदर पाँच प्रतिशत तल नै रहने अनुमान गरिएको छ

 

यसैगरी चालु आवमा नेपालीको वार्षिक औसत आय करिब एक लाख ९५ हजार रुपियाँ पुग्ने अनुमान गरिएको छ। लेखा अनुमानका अनुसार यस आवमा नेपालीको प्रतिव्यक्ति आय एक हजार ४५६ डलर पुग्ने अनुमान रहेको छ, जुन गत आवको तुलनामा ५१ डलरले बढी हो। चालु आवमा यस्तो आय गणना गर्दा एक अमेरिकी डलरको विनिमय दर १३३ रुपियाँ ८२ पैसा कायम गरिएको छ।  कुल आयमध्ये नेपालीले ९२.३८ प्रतिशत उपभोगमै खर्च गर्ने देखिएको छ

 

राससका अनुसार आर्थिक वर्ष २०८०/८१ मा कुल गार्हस्थ्य उत्पादनको ७.९४ प्रतिशत निर्यात हुने प्रारम्भिक अनुमान छ। गत आवमा ६.९६ प्रतिशत रहेको संशोधित अनुमान गरिएको छ। यसै गरी चालु आवको कुल गार्हस्थ्य उत्पादनको ३३.७० प्रतिशत आयात हुने प्रारम्भिक अनुमान गरिएको छ। गत आवमा ३४.६८ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ

अघिल्लो आवको तुलनामा २०८०/८१ मा विप्रेषण आप्रवाह वृद्धि भएको छ। चालु आवमा कुल गार्हस्थ्य उत्पादनको २२.९६ प्रतिशत विप्रेषण प्राप्त हुने प्रारम्भिक अनुमान गरिएको छ। आव २०७९/८० मा २२.८२ प्रतिशत विप्रेषण प्राप्त भएको संशोधित अनुमान छ। आव २०७८/७९ को अन्तिम तथ्याङ्क अनुसार उक्त वर्षमा कुल गार्हस्थ्य उत्पादनको २०.२४ प्रतिशत विप्रेषण प्राप्त भएको थियो।