आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, राष्ट्रपति, प्रधानमन्त्री र सभामुख लगायतद्वारा शुभकामना
2024-05-01 15:58:27cri
Share with:

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे डेइतिहास, उपलब्धि र आगामी बाटो नाराका साथ मनाइँदैछ। विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा यस दिवसलाई लिने गरेका छन्। मर्यादित काम र मुनासिब ज्यालाको अधिकार स्थापनाका लागि हालसम्म भएका आन्दोलन र उपलब्धिलाई यस दिवसले स्मरण गराउँदै मजदुरका पक्षमा लाग्न प्रेरित गर्नेछ ।

 

नेपालको संविधानले नागरिकको रोजगारीको हक सुनिश्चित गरी प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत प्रत्याभूत गरेको छ । मजदूर दिवसका अवसरमा संयुक्त ट्रेड युनियन समन्वय कमिटीले भृकुटीमण्डपमा र्‍याली सहित कार्यक्रम गरेको कान्तिपुर अनलाइनले जनाएको छ। सन् १८८१ मे १ मा अमेरिकामा भएको आम हडतालको स्मरणमा दिवसको थालनी भएको हो।

 

श्रमिक दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतले शुभकामना दिनुभएको छ। राष्ट्रपति रामचन्द्र पडेलले मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिनुभएको छ भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील रहेको बताउनुभएको छ।

 

गोरखापत्र अनलाइनका अनुसार राष्ट्रपति पौडेलले मुलुकको आर्थिक समृद्धि र आत्मनिर्भरउन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत हुनुपर्ने बताउनुभएको हो। शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, “मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यक हुन्छ । उद्यमशीलताको विकास गर्न पुँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिक दुवैको योगदान उत्तिकै महत्त्वपूर्ण हुने भएकोले मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ ।

 

विश्व मजदुर दिवसले स्वदेशी उत्पादनको प्रयोगमा जोड दिँदै श्रमको सम्मान, स्वरोजगार, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायतका श्रमिक अधिकारलाई सुनिश्चित गर्नेतर्फ अग्रसर हुन प्रेरणा मिल्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको हक एवं श्रमको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई  प्रत्याभूत गरेको छ । त्यस्तै, समान कामका लागि लैङ्गिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव नगरिने व्यवस्था समानताको हकमा छ। राष्ट्रपति पौडेलद्वारा जारी शुभकामना सन्देशमा मूलकमा लोकतन्त्रमा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक प्रावधानले मूर्तरूप लिँदै जाने सन्दर्भमा श्रमिक वर्ग पनि लाभान्वित हुने उल्लेख छ।

 

यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादनसँगै रोजगारीलाई प्राथमिकतामा राखेर श्रमको सम्मानसहित समृद्धिको जग बसाल्न सरकार गम्भीरताका साथ लागिरहेको बताउनुभएको छ । उहाँले श्रमिकको हित रक्षालाई केन्द्रमा राखेर विदेशमा रहेका नेपाली, सरकारी, अर्धसरकारी र सामाजिक क्षेत्रमा क्रियाशील श्रमिकका निम्ति योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । नेपालको संविधानमा श्रमसम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको उल्लेख गरदै प्रधानमन्त्री दाहालले श्रमिकलाई उचित श्रम अभ्यासको हकसहित आफ्नो हित रक्षाका निमित्त ट्रेड युनियन खोल्ने, सङ्गठित हुने र सामूहिक सौदाबाजी गर्ने हकलाई प्रत्याभूत गरिएको बताउनुभयो। राससका अनुसार

सभामुख देवराज घिमिरेले श्रमिक दिवसले मजदुरको सामाजिक सुरक्षा तथा श्रम बजार व्यवस्थित गर्दै उत्पादकत्व अभिवृद्धि गर्न प्रेरणा मिलोस् भनी शुभकामना दिनुभयो।