चीनमा नेपालीलाई प्रवेशाज्ञा शुल्क नलाग्ने
2024-05-02 16:15:04cri
Share with:

छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई साधारणतर्फ (नियमित) प्रवेशाज्ञा शुल्क नलिने भएको छ। चिनियाँ राजदूतावासले सूचना जारी गर्दै बुधबारदेखि नेपालीलाई सो शुल्क नलाग्ने जानकारी दिएको हो। नेपाल र चीनबिचको मित्रता प्रवर्धन गर्न तथा कर्मचारी आदानप्रदानलाई थप सहज बनाउन साधारणतर्फको भिसा शुल्क नलाग्ने बनाएको दूतावासले जनाएको छ। नेपालका लागि चिनियाँ राजदूत छङ सङले दुई देशबिचको सम्बन्धलाई प्रवर्धन गर्न र सेवालाई थप सहज बनाउन यस्तो निर्णय लिइएको जानकारी दिनुभएको छ।

अध्यागमन विभागका अनुसार नेपाली नागरिकलाई नियमित भिसा शुल्क नलिने चीन सरकारको निर्णयले आर्थिक व्यापार, शिक्षा र पर्यटन जस्ता क्षेत्रमा नेपालीलाई फाइदा पुग्ने छ। यस निर्णयले नेपालबाट चीनमा पढ्न जाने विद्यार्थी, व्यवसायी र नेपाली पर्यटकको सङ्ख्यामा समेत बढोत्तरी हुने देखिन्छ। चीनले गत महिना मात्रै स्विट्जरल्यान्ड, आयरल्यान्ड, हङ्गेरी, अस्ट्रिया, बेल्जियम र लक्जम्बर्गलाई भिसा शुल्क नलिने निर्णय गरेको थियो।

यसअघि चिनियाँ दूतावासले नियमित, एक्सप्रेस१ र एक्सप्रेस२ भिसाका लागि शुल्क लिने गरेको थियो। नियमित भिसा शुल्क निःशुल्क गरिए पनि एक्सप्रेस१ भिसाका लागि चार हजार र एक्प्रेस२ भिसाका लागि दुई हजार सात सय रुपियाँ तिर्नुपर्ने हुन्छ। त्यस्तै समूहतर्फ एक्सप्रेस१ को दुई हजार रुपियाँ र एक्प्रेस२ को एक हजार ३५० रुपियाँ तिर्नुपर्ने हुन्छ।

नेपालबाट २०७२ चैत १२ गतेको मन्त्रीपरिषद्को बैठकले चिनियाँ पर्यटकलाई निःशुल्क भिसा दिने निर्णय गरेको गोरखापत्र अनलाइनले लेखेको छ। पछिल्लो समय नेपाल भित्रिने चिनियाँ पर्यटक बढिरहेका छन् भने नेपाली नागरिक पनि उल्लेख्य सङ्ख्यामा चीन गइरहेका छन्।

अध्यागमन विभागको तथ्याङ्क अनुसार नेपाल भित्रिने पर्यटकमध्ये भारतपछि दोस्रोमा चिनियाँ पर्यटक रहेका छन्। नेपालबाट भने सन् २०२३ मा छ हजार ९३ जना नेपाली पर्यटनका लागि चीन गएका देखिन्छन्।