काठमाडौँ महानगरको सीप मेला
2024-05-03 15:59:20cri
Share with:



काठमाडौँ महानगरपालिकाको सीप मेला बुधबारदेखि सुरु भएको छ। महानगरकी उपप्रमुख सुनिता डंगोलले टुँडिखेलमा मेला उद्घाटन गर्नु भएको हो। मेला उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख डंगोलले शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोड्ने गरी सीप नहुनेलाई सीपयुक्त बनाउने योजनाका साथ मेला आयोजना गरिएको बताउनु भएको कान्तिपुर अनलाइनले लेखेको छ। उहाँले काठमाडौँ महानगरपालिकाले सीप भएकालाई रोजगार तथा स्वरोजगार बनाउने र सीप नभएकाहरुको व्यावसायिक स्तरवृद्धि गराएर आयमा वृद्धि गराउनु तालिमको मुख्य लक्ष्य रहेको बताउनुभयो।

१ महिनामा २ हजार ८१ जनालाई उच्च माग भएका पेसासँग सम्बन्धित निःशुल्क तालिम दिन मेला आयोजना गरिएको पनि उहाँको भनाइ छ। उहाँले बजारमा दक्ष श्रम जनशक्ति नपाएको रोजगारदाताको गुनासोलाई पनि महानगरले सम्बोधन गरी श्रमिक र रोजगारदातालाई जोड्ने पुलको काम गर्ने बताउनुभयो।

रोजगारदाताले भन्ने गरेका छन्। खोजेको जस्तो जनशक्ति बजारमा छैन। यो तालमेल नमिलेकोले मिसम्यासलाई म्याचिङ गराउनको लागि काठमाडौँ महानगरपालिकाले सीप मेला आयोजना गर्‍यो। हामीले सीप मेलाबाट पुलको काम गर्दै छौं। तालिम गरेर रोजगारीसँग जोड्न चाहनुहुन्छ। उहाँहरुलाई रोजगारदातासँग जोड्न खाजेका छौं,' उहाँले भन्नुभयो।

उपप्रमुख डंगोलले सरकार र निजी क्षेत्र सहकार्य गरेर देशमा रहेको बेरोजगारको समस्या हल गर्न एकजुट भएर अघि बढ्न आवश्यक रहेको बताउनुभयो। जेठ २५ गतेसम्म चल्ने मेलामा ३४ भन्दा धेरै पेसासम्बन्धी तालिम दिइने छ। तालिमका लागि १० वटा क्षेत्र निर्धारण गरिएको महानगरले जनाएको छ। ती क्षेत्रभित्र २९ प्रकारका पेसागत तालिम हुनेछन्। तालिममा अटो मोबाइल्स, निर्माण क्षेत्र, हस्पिटालिटी एण्ड म्यानेजमेन्ट, सूचना प्रविधि, मेकानिकलमा वेल्डिङ र रेफ्रिजेरेटर एण्ड एसी टेक्निसियन, आर्ट एण्ड कल्चरमा आर्ट एण्ड स्कप्चर, गार्मेन्ट्स, व्युटिसियन, डिजाइनिङ, पुरोहित विषय समेटिनेछ। तालिमको अन्तिम दिन रोजगार मेलासमेत हुने महानगरले जनाएको छ।

तामिल सञ्चालन गर्न उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान), नेपाल उद्योग परिसंघ (सीएनआई), नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ एफपी टीइएन, ग्लोकल, सीप्रदी ट्रेडिङ् र सीसीईटीभी स्टेशन एण्ड स्मार्ट होमसँग सहकार्य भएको छ।