भैरहवा नाकाबाट पेट्रोलियम पदार्थको आयातमा कमी
2024-05-03 15:58:05cri
Share with:

नेपाल र भारतबीचको भैरहवा नाका हुँदै आउने पेट्रोल र डिजेलको आयातमा कमी भएको छ। विगतका वर्षको तुलनामा चालु आर्थिक वर्षमा भैरहवा नाका हुँदै आयात हुने पेट्रोल र डिजेल कम आयात भएको हो। स्वदेशमा उपभोग कम हुन थालेपछि आयात घटेको गोरखापत्र अनलाइनले लेखेको छ।

भैरहवा भन्सार कार्यालयका अनुसार चालु आवको नौ महिना (साउनदेखि चैत मसान्तसम्म) बेलहिया नाका हुँदै चार अर्ब ५८ करोड ६५ लाख ६६ हजार मूल्य बराबरको ४६ हजार किलोलिटर पेट्रोल आयात हुँदा दुई अर्ब ६३ करोड ३९ लाख ९५ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ।

गत वर्ष यो अवधिमा बेलहिया हुँदै ४७ हजार एक सय किलोलिटर पेट्रोल आयात हुँदा दुई अर्ब ६९ करोड ८४ लाख ७८ हजार रुपियाँ सङ्कलन भएको थियो। नौ महिनामा पेट्रोल आयात एक हजार एक सय किलोलिटर कम भए पनि डिजेल आयातमा भने गत वर्षको तुलनामा नौ हजार किलोलिटरभन्दा बढी फरक छ।

भन्सार कार्यालयका अनुसार गत वर्ष यही अवधि नौ महिनामा ४६ हजार २६४ किलोलिटर डिजेल आयात हुँदा एक अर्ब ४५ करोड २४ लाख ४० हजार रुपियाँ राजस्व सङ्कलन भएको छ। चालु आवको नौ महिनामा डिजेल आयात खस्केर ३६ हजार ८३६ किलोलिटर भएको छ। 

चालु आवमा चार अर्ब तीन करोड १० लाख १८ हजार रुपियाँ बराबरको डिजेल आउँदा एक अर्ब ५२ करोड २३ लाख २५ हजार रुपियाँ राजस्व डिजेलबाट प्राप्त भएको छ।

गत वर्षको तुलनामा यस वर्ष डिजेल, पेट्रोलको मूल्य बढी भएका कारण यस वर्ष इन्धन आयात कम हुँदा पनि राजस्व भने केही बढेको छ। यद्यपि आयात घट्दा राजस्व कम हुनु स्वाभाविकै रहेको र अहिले खपत पनि कम हुने गरेको इन्धन व्यवसायी एवं नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका केन्द्रीय सदस्य राजु न्यौपानेले बताउनुभयो।

यो नाका हुँदै आउने डिजेल, पेट्रोल नेपाल आयल निगमको भलबारीस्थित डिपोमा भण्डारणपछि रुपन्देही, कपिलवस्तु, पश्चिम नवलपरासी, नवलपुर, पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, दाङ, रोल्पा, रुकुम, प्युठान तथा काठमाडौँ पठाइने गरिन्छ। 

निगमको भलबारीस्थित इन्धन भण्डारण डिपो कम क्षमताको भएको र यहाँको भण्डारण इन्धनले १४ दिनभन्दा बढी नधान्ने भएकाले इन्धनको भण्डारण क्षमता ठुलो बनाउने भन्दै रुपन्देहीको रोहिणी र ओमसतिया गाउँपालिकाको सिमानामा रहेको रोहिणी खोलाको बगरमा भण्डारण स्थल निर्माण कार्य गत साता मात्र सुरु भएको छ।

इन्धन आयात कम हुँदा त्यसको प्रभाव भैरहवा भन्सार कार्यालयको राजस्व सङ्कलनमा समेत परेको छ। भन्सार राजस्वमा डिजेल र पेट्रोल बढी राजस्व दिनेमध्ये एक रहेको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले बताउनुभयो।