राष्ट्रपति, प्रधानमन्त्री लगायतसँग जापानका विदेशमन्त्रीको शिष्टाचार भेट, नेपाल–जापान सम्बन्ध अब बहुपक्षीय आयाममा
2024-05-06 15:59:54CRI
Share with:

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालको भ्रमणमा रहनुभएकी जापानी विदेशमन्त्री खामिखावा योकोले शिष्टाचार भेट गर्नुभएको छ । आइतबार राष्ट्रपति कार्यालयमा उहाँहरूबिच शिष्टाचार भेट भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।  राष्ट्रपति भवनमा भएको भेटमा नेपाल र जापानबिच रहेको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका सम्बन्धमा कुराकानी भएको प्रवक्ता भट्टराईले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । 

भेटमा राष्ट्रपति पौडेलले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापान लामो समयदेखि एक महत्त्वपूर्ण तथा विश्वासिलो विकास साझेदारको रूपमा रहेको उल्लेख गर्नुभएको छ । उहाँले आगामी दिनमा नेपाल र जापानबिच आर्थिक सहयोगलगायत अन्य सहकार्यका क्षेत्र थप विस्तार हुने विश्वाससमेत व्यक्त गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

गोरखापते अनलाइनका अनुसार नेपाल–जापान सम्बन्ध बहुपक्षीय आयामसाथ अघि बढ्ने भएको छ । ६८ वर्ष लामो द्विपक्षीय सहयात्रा आपसी हित, विकास साझेदारी, जनसम्बन्धको आयाममा केन्द्रित रहेकोमा अब बहुपक्षीय आयामसाथ अघि बढ्ने भएको हो । जापानका विदेशमन्त्री कामिकावा योकोको आइतबार भएको उच्चस्तरीय भ्रमणले दुई देशको सम्बन्धलाई बहुपक्षीयताको मार्गमा अग्रसर गराएको हो । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँगको छुट्टाछुट्टै भेटमा बहुपक्षीयता दर्साउने जलवायु परिवर्तन, दिगो विकास लक्ष्यको प्राप्ति, विकास साझेदारी, जनमैत्री सम्बन्ध र नेपालको विकासशील यात्रालगायतका विविध विषयमा भएको छलफलले अब दुई देशको सम्बन्धको आयाम बहुपक्षीयतातर्फ लम्किएको सन्देश दिएको हो ।

यसैबीच शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष योकोले शिष्टाचार भेट गर्ने क्रममा बहुपक्षीयताको ज्वलन्त विषय रहेको विश्वव्यापी जलवायु परिवर्तनको मार नेपालका हिमालमा गम्भीर रूपमा परेको राष्ट्रपति पौडेलले औँल्याउनुभयो । उहाँले अत्यधिक तापक्रम र कार्बन उत्सर्जनबाट पग्लँदै गरेको हिमालका कारण पृथ्वीको सुरक्षा चुनौती बढेको स्पष्ट पार्नुभयो । राष्ट्रपति पौडेलले कार्बन उत्सर्जन गर्ने विकसित मुलुकहरूले जलवायु परिवर्तनको असर न्यूनीकरणमा गम्भीर भइदिन आग्रह गर्नुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । 

जापानका विदेशमन्त्री कामिकावा योकोले जलवायु परिवर्तनको असरबारे जापान पनि अत्यन्तै चिन्तित रहेको स्पष्ट पार्दै नेपालसहित अन्य देशका हिमाल जोगाउन सबै मिलेर सहकार्य गर्न जरुरी रहेको जानकारी गराउनुभयो । 

यसै गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटमा द्विपक्षीय हित, आर्थिक तथा समाजिक सहकार्य तथा नयाँ सम्भावित साझेदारीका विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले नेपाल–जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपालको आर्थिक एवं सामाजिक विकासमा जापान सरकारले गर्दै आएको सहयोगको सराहना गर्नुभयो । नेपालले लिएको विकास लक्ष्य पछ्याउँदै पछिल्लो समय ठुला पूर्वाधार निर्माणमा जापानको महìवपूर्ण रहेको भन्दै त्यस क्रममा नेपालको पूर्वाधार एवं आर्थिक–सामाजिक क्षेत्रमा जापान सरकारबाट प्राप्त हुँदै आएको योगदानप्रति आभार प्रकट गर्नुभयो ।  जवाफमा विदेशमन्त्री योकोले नेपाल–जापानबिचको सौहार्दपूर्ण र समस्यारहित मित्रवत् सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ बनाएर लैजाने विश्वास दिलाउनुभयो ।