नेपाली पर्वतारोही कामीरिता शेर्पा २९औं पटक सगरमाथामा
2024-05-12 15:59:41CRI
Share with:

विश्वको अग्लो शिखर सगरमाथामा सबैभन्दा धेरै पटक सफल आरोहण गरिसकेका विश्वप्रख्यात आरोही कामीरिता शेर्पाले आफ्नै २८ औं किर्तिमान ब्रेक गर्दै आइतबार २९ औं पटक सगरमाथा आरोहण गर्नुभएको छ। उहाँ कार्यरत काठमाडौंस्थित सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार, आइतबार बिहान ७:२५ मा सगरमाथाको चुचुरोमा पुग्नुभयो। 

‘कामीरिताले आफ्नो २८ औं पटकको रेकर्ड ब्रेक गरेर पुन: संसारमै सगरमाथा सर्वाधिक आरोहण गर्ने एक्ला व्यक्ति भएका छन्,’ अध्यक्ष शेर्पाले भन्नुभयो, ‘अहिले कामिरिता आधार शिविर फर्किदै छन्। पुनः यसै सिजनमा दोस्रोपटक जाने कि नजाने उनी आधार शिविर पुगिसकेपछि निर्णय लिने छन् ।’ 

पर्यटन विभागका अनुसार, कामिरिता विदेशी भीभीआईहरुको समूहको वरिष्ठ हाई अल्ट्च्यूड गाइडका रुपमा यसपाली २९ औं पटकका लागि सगरमाथा आरोहण गर्न जानुभएको थियो। यसपाली सेभेन समिट र फोर्टीन पिक्स एक्सपिडसन गरी दुइटा कम्पनीका सदस्यहरुलाई सगरमाथा आरोहण गराउने कामीरिताको जिम्मेवारी रहेको छ । ५४ वर्षीय कामीरिताले यसपटक मौसम अनुकूल भए दुईपटक सगरमाथा आरोहण गर्नसक्ने मनसाय बनाउनुभएको कान्तिपुर अनलाइनमा खबर छ।

सोलुखुम्बुको थामेका शेर्पाले गत वर्षको वसन्तकालीन याममा आफ्नो २७ औं पटकको रेकर्ड ब्रेक गर्दै २८ औं पटक सगरमाथा चुचुरोमा पुगेर विश्वकै सर्वाधिक सगरमाथा आरोहण गर्ने व्यक्तिको रेकर्ड बनाउनुभएको थियो। कामीरितापछि सगरमाथामा सर्वाधिक आरोहण गर्नेमा सोलुखुम्बुको पाङ्बोचेका ४७ वर्षीया पासाङ दावा (पादावा) शेर्पा हुनुहुन्छ। 

गत वर्षको वसन्तकालीन याममा उहाँले गरेको सगरमाथा आरोहण २७ औं पटक थियो । उहाँले गत वर्ष एकै सिजनमा दुईपटक सगरमाथा आरोहण गरेर कामीरिताकै हाराहारीमा सगरमाथा आरोहणको र्कितिमानी बनाएपछि कामीरिताले पनि एक साता नबित्दै गत वर्ष एकै सिजनमा दुईपटक सगरमाथा आरोहण गरेर २८ औं पटकको रेकर्ड बनाउनुभएको  थियो। 

कामीरिताले २०५१ मा पहिलोपटक सगरमाथा आरोहण गर्नुभएको थियो भने पासाङ दावाले २०५५ सालमा सगरमाथा आरोहण गर्नुभएको थियो। सगरमाथामा सबैभन्दा धेरै (२१ पटक) पुगेर आप्पा शेर्पाले ०६८ जेठमा रेकर्ड बनाउनुभएको थियो। उहाँको रेकर्ड हाराहारी ०७० जेठमा फुर्वा तासी शेर्पाले बनाउनुभएको थियो। यो २१ औं पटकको रेकर्डमा कामीरिता ०७४ जेठमा पुग्न सफल हुनुभयो। त्यसयता उहाँ सगरमाथामा सर्वाधिक आरोहणको आफ्नै रेकर्ड बनाउँदै ब्रेक गर्दै आइरहनुभएको छ। उहाँले हिमाल आरोहणबाट विश्राम लिनेबारे अहिलै सोचिनसकेको भन्ने गर्नुभएको छ। 

पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार, कामीरिताले वसन्तकालीन यामका लागि सगरमाथा आरोहणको एकपटकका लागि अनुमति लिनुभएको छ। 

‘यदि उहाँले दुईपटक आरोहण गर्ने चाहना राख्नु भएमा अनुमति लिन काठमाडौं आइरहनु पर्दैन । यसपटकदेखि सगरमाथा आधार शिविरमै पर्यटन विभागले फिल्ड अफिस स्थापना गरेको छ । त्यही ब्रिफिङ गरेर जुनसुकै आरोहीहरुले सगरमाथाको यात्रा दोब्बर तेब्बर बनाउन सक्नुहुन्छ।’