काठमाडौँकी श्रेया गिरी फोर्ब्स म्यागेजिनको ३० वर्ष मुनिका ३० जनाको सूचीमा एशियाबाट छनौट हुनु भएको छ। फोर्ब्स म्यागेजिनले मे १६ तारिख बिहीबार सार्वजनिक गरेको सूचीमा ‘सोसल इम्प्याक्ट’ विधामा उहाँ सन् २०२४ को एशियाका प्रभावशाली युवाको सूचीमा पर्नु भएको अनलाइन खबरले लेखेको छ।
२८ वर्षीया गिरी मानसिक स्वास्थ्य सम्बन्धी डिजिटल प्लेटफर्म ह्याप्पी माइन्ड्सकी संस्थापक हुनुहुन्छ। लण्डनमा स्नातकोत्तर अध्ययन गरिरहँदा कोभिड महाव्याधी सुरु भयो। यही क्रममा उहाँले मानसिक स्वास्थ्य समस्या व्यहोर्नुभयो। तर कोभिडको बेला अनलाइनबाट मानसिक परामर्श लिने कुनै सुविधा थिएन। अध्ययन सकेर नेपाल फर्किएपछि उहाँले ‘ह्याप्पी माइन्ड्स’ सुरु गर्नु भएको हो। मानसिक स्वास्थ्य समस्या सिर्जित नकारात्मक दृष्टिकोण र विश्वासजन्य चुनौतीहरूविरुद्ध काम गर्न नेपाल फर्कनु भएकी गिरीले सुरु गर्नु भएको ह्याप्पी माइन्ड्सले भौतिक र भर्चुअल रूपमा मानसिक परामर्श दिनुका साथै समूहमा विभिन्न वर्कसपहरू चलाउँदै आएको छ।
यो भौतिक उपस्थितिका साथै अनलाइनबाट पनि मानसिक स्वास्थ्य परामर्श दिने प्लेटफर्म हो। संस्थाले विश्वका जुनसुकै स्थानमा रहेका नेपालीलाई सेवा दिन्छ।