लेनडाँडा ‘ब्रेक थ्रु’ सँगै पाइपलाइनमा छन् द्रुतमार्गका सुरुङ
2024-05-18 18:12:01cri
Share with:

राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेश द्रुतमार्गका सुरुङ धमाधम ‘ब्रेक थ्रु’ हुन थालेका छन्। मे १७ तारिख शुक्रबार मकवानपुर बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये काठमाडौंबाट निजगढतर्फ जाने १ हजार ४ सय ३० मिटर लम्बाइको सुरुङमार्ग ब्रेक थ्रु भएको अनलाइन खबरले लेखेको छ।

नेपाली सेनाले गत फागुनमा सार्वजनिक गरेको विवरण अनुसार लेनडाँडा सुरुङ ब्रेक थ्रु वैशाखमा सक्ने योजना थियो। निर्धारित लक्ष्यअनुसार नै यो सुरुङ जेठ पहिलो साता ब्रेक थ्रु गरिएको छ।

नेपाली सेनाले सार्वजनिक गरेको विवरण अनुसार धेद्रे सुरुङ जेठ र महादेवटार सुरुङ आगामी असोजभित्र ब्रेक थ्रु गरिसक्ने लक्ष्य छ। कुल ७०.९७७ किलोमिटर लामो द्रुतमार्गमध्ये सुरुङको मात्र हिस्सा १०.५५ किलोमिटर छ।

यस आयोजनामा कुल ६ स्थानमा सुरुङ रहने छ। लामो सुरुङका तीन प्याकेजमध्ये यसअघि ४.३२ किलोमिटर सुरुङ निर्माण भइसकेको छ। यस आयोजनामा ८९ पुल बन्ने छ। जसले १२.८८ किलोमिटर ओगट्छ। धेद्रे–लेनडाँडा सुरुङमार्ग निर्माण ठेक्का चीनको पोली च्याङ्दा इन्जिनियरिङ कम्पनी लिमिटेडले पाएको थियो।

कुल ७०.९७७ किलोमिटर लामो द्रुतमार्ग निर्माणलाई सेनाले ११ खण्डमा विभाजन गरेको छ। जसमध्ये १ देखि ७ खण्ड र १० मा ठेक्का लागेर कामसमेत जारी छ। जसको लम्बाइ ४४.६२७ किलोमिटर हो।

तर, मुआब्जा वितरण र जग्गा अधिग्रहण नै नभएको खोकना क्षेत्र र अदालतमा मुद्दा परेर रोकिएका ठेक्का प्रक्रियाका कामले भने सेनालाई अझै पनि टाउको दुखाइरहेको छ। यस आयोजनाको ४.६ किलोमिटर भाग काठमाडौंमा पर्छ।

आयोजनाको प्याकेज नम्बर ८ क, ९ क र ९ खको खरिद प्रक्रिया विवादमा रहेको सेनाले जनाएको छ। प्याकेज ११ मा खोकना क्षेत्रको प्रस्थान बिन्दुमै समस्या छ। यहाँ सवारी आवागमन व्यवस्थापन र जग्गा अधिग्रहण सम्बन्धी विषय नै विवादमा छ।

सरकारले चार वर्षमा सक्ने गरी २१ वैशाख २०७४ मा सेनाको जिम्मा लगाएको थियो। त्यसको एक महिनापछि १४ जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गर्नु भएको थियो। प्रारम्भिक लक्ष्यअनुसार काम भएको भए यो आयोजना भदौ २०७८ मै सकिनुपर्थ्यो। कोभिड-१९ महामारीसहित कारण देखाउँदै आयोजनाको म्याद २०८१ सम्म पुर्‍याइयो। थप अवधिमा पनि काम नसकिएपछि आयोजनाको म्याद चैत २०८३ पुर्‍याइएको छ।