चिनियाँ पर्यटक बढाउन कार्यक्रम
2024-05-20 15:54:37cri
Share with:

नेपाल भित्रिने चिनियाँ पर्यटकको सङ्ख्या बढाउन चीनमा पर्यटक प्रवर्धनात्मक कार्यक्रमको आयोजना गरिएको छ। नेपाल भित्रिने पर्यटकको दोस्रो ठुलो स्रोत बजारका रूपमा रहेको चीनमा कोरोना महामारीपछि पहिलो पटक पर्यटन प्रवर्धनको कार्यक्रम आयोजना गरिएको

गोरखापत्र अनलाइनले जनाएको छ। पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले भन्नुभयो, “सन् २०२४ मा चिनियाँ पर्यटकको सङ्ख्या बढे पनि पुरानै अवस्थामा फर्किन भने सकेको छैन । विश्व भ्रमणमा धेरै पर्यटक निस्कने मुलुक चीनबाट अझै पनि बढी पर्यटक भित्र्याउन ग्वाङझाउमा आयोजना गरिएको अन्तर्राष्ट्रिय ट्राभल फेयरमा नेपाल प्रवर्धन गरिएको छ।”

 

वार्षिक १५ करोड चिनियाँ नागरिक विश्व भ्रमणमा निस्कने गरेकाले त्यसको केही हिस्सा नेपाल ल्याउन सके यहाँको पर्यटन क्षेत्रमा महìवपूर्ण योगदान पुग्ने लक्ष्यसहित बोर्डले चीनमा प्रवर्धनका कार्यक्रममा जोड दिएको उहाँले बताउनुभयो। जेठ ३ देखि ५ सम्म आयोजना भएको ग्वाङझाउ अन्तर्राष्ट्रिय ट्राभल फेयरमा नेपाल पर्यटन बोर्डको नेतृत्वमा पाटा नेपाल च्याप्टरसहित नौ वटा ट्राभल एजेन्सी र होटलले सहभागिता जनाएको उहाँले बताउनुभयो। त्यस्तै गरी लगत्तै छेन्दु र बेइजिङमा आयोजना हुने कार्यक्रममा करिब ५० हाराहारीमा नेपाली व्यवसायीले सहभागिता जनाउने उहाँले जानकारी दिनुभयो।

यसअघि वैशाख २४ देखि २७ गतेसम्म दुवईमा आयोजित अरेबियन ट्राभल मार्केटमा सहभागिता जनाइयो। सो मेलामा विश्वभरका १६० भन्दा बढी देशका ३ हजारभन्दा बढी आगन्तुक सहभागी थिए। बोर्डको तथ्याङ्क अनुसार यो अप्रिलमा नौ हजार ७५० चिनियाँ पर्यटक नेपाल भित्रिएका छन्। जुन भारत र अमेरिकापछि तेस्रो नम्बरमा रहेका छन् । सन् २०२३ को अप्रिलमा चार हजार ७७० चिनियाँ पर्यटक नेपाल आएका थिए। सन् २०२४ को जनवरीमा सात हजार २६७, फेब्रुअरीमा ९१८०, मार्चमा १२ हजार ९३ जना चिनियाँ नेपाल भित्रिएका थिए । सन् २०२३ मा नेपाल भित्रिने चिनियाँको सङ्ख्या ६० हजार ८७८ मात्र थियो। कोरोना महामारीअघि सन् २०१९ मा एक लाख ६९ हजार ५४३ चिनियाँ पर्यटक नेपाल आएका थिए जुन अहिलेसम्मकै सर्वाधिक हो।