बेइजिङमा पर्यटन प्रर्वद्धनका लागि सेल्स मिसन कार्यक्रम
2024-05-20 18:30:30cri
Share with:

अजय अलौकिक/ बेइजिङस्थित चीनका लागि नेपाली दूतावास

नेपालको पर्यटनलाई लयमा फर्काउने अपेक्षासहित मे २० तारिख बेइजिङस्थित चीनकालागि नेपाली दूतावासमा ‘नेपाल सेल्स मिसन २०२४’ कार्यक्रमको आयोजना गरिएको छ।

 

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले नेपाली राजदूतावासको समन्वयमा नेपाल सेल्स मिसन एण्ड बिटुबी कार्यक्रमको आयोजना गरेको हो।

 

(नाट्टा) गण्डकी प्रदेशले जेठ ३ देखि नै चीनका विभिन्न सहरमा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रमको आयोजना गरिरेहको छ। एक साता लामो कार्यक्रममा आएको १६ सदस्यीय भ्रमण टोलीले जेठ ७ गते (मे २०) बेइजिङस्थित नेपाली दूतावासमा यस्तो कार्यक्रमको आयोजना गरेको हो।

 

कार्यक्रममा चीनकालागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले नेपाल र चीन बीच ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्ध प्रगाढ रहेको तथा चीन र नेपालका बीच धार्मिक पर्यटनमा सहकार्य गर्न सकिने र यसबाट दुवै देशलाई फाइदा पुग्ने बताउनुभयो।

 

नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकारी कुन्दन कुमार मिश्र, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले नेपाल सबै सिजनकालागि उपयुक्त गन्तव्य भएको भन्दै चिनियाँलाई नेपालको पर्यटनमा स्वागत गर्दै मन्तव्य राख्नुभएको थियो।

 

कार्यक्रममा नेपाल तथा चीनका पर्यटन व्यवसायीहरुको सहभागिता रहेको छ। सो अवसरमा नेपाल तथा गण्डकी प्रदेशको पर्यटन गतिविधि समेटिएको विविध वृत्तचित्र प्रस्तुत गरिएको थियो।

चीन नेपालका लागि प्रमुख पर्यटन बजारको रुपमा रहेको छ। तथ्याङ्क अनुसार, यस वर्षको अप्रिलसम्ममा ९ हजार ७ सय ५० चिनियाँ पर्यटक नेपाल भित्रिएका छन्।