उत्तरी क्षेत्र चीनसँग जोडिएको सङ्खुवासभाको किमाथाङ्का नाका खुल्ने भएको छ। कोरोना अवधिमा २०७६ माघ ५ देखि किमाथाङ्का नाका बन्द थियो। उत्तरी क्षेत्र चीनसँग जोडिएको सङ्खुवासभाको किमाथाङ्का नाका जेठ १२ गतेदेखि खुल्ने भएको हो। त्यसको सबैभन्दा ठूलो असर भोटखोलामा परेको छ। त्यहाँका बासिन्दाले चिनियाँ बजारबाट खाद्यान्न आयात गर्दै आएका थिए। विराटनगरको रानी भन्सार नाका हुँदै सङ्खुवासभाको किमाथाङ्कासम्म पुग्ने बाटोलाई चीन–भारत जोड्ने छोटो मार्गका रुपमा लिइन्छ।
उत्तरी क्षेत्रमा विसं २०३५ मा किमाथाङ्का भन्सार कार्यालय स्थापना भएको थियो । तत्कालीन द्वन्द्वका कारण भोटखोलाको हटियामा रहेको सिमा भन्सार विसं २०५७ देखि सदरमुकाम खाँदबारी रहेको छ। भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिनुभएअनुसार भोटखोलावासीलाई तिब्बत प्रवेश गर्न स्थानीयस्तरमा अनुमतिपत्र पनि वितरण सकिएको हो। लामो समयदेखि बन्द रहेको किमाथाङ्का नाका जेठ १२ गते खुल्ने सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी धुव्रबहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार परराष्ट्र मन्त्रालयको पत्र गृह मन्त्रालयमार्फत किमाथाङ्का नाका खुल्ने जानकारी प्राप्त भएको पुष्टि गर्नुभयो।
सरकारको पटक पटकको आग्रहपछि चीन सरकारको औपचारिक रुपमा नाका खुलाउन लागेको हो। किमाथाङ्का बन्द भएपछि भोटखोला गाउँपालिकामा सदरमुकाम खाँदबारीबाट महँगोमा खाद्यान्न ढुवानी गरिँदै आएको थियो। भोटखोलाको किमाथाङ्का नाका सदरमुकाम खाँदबारीदेखि करिब एक सय ६२ किलोमिटर टाढा पर्दछ । किमाथाङ्का स्थानीयवासी दैनिक रोजगारीका लागि पनि विगतमा पारिका चाँगा र देन्दाङसम्म जाने गरेका थिए। करिब छ हजारको बसोबास रहेको यो क्षेत्रमा स्थानीय उत्पादनले तीन महिना पनि धान्दैन । किमाथाङ्का, चेपुवा, छुम्सुर रिदाक, थुदामलगायत गाउँका लागि चामललगायत दैनिक उपभोग्य सामग्री किनमेल गर्ने प्रमुख बजार चीनको चाँगा र देन्दाङ हो।


