आज २५६८ औं बुद्ध जयन्ती मनाइँदै
2024-05-23 16:03:38cri
Share with:

शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतम अर्थात् बुद्धको २५६८ औं जयन्ती आज मनाइँदै छ।  प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो। ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक बुद्धको जयन्ती नेपालसहित विश्वभर मनाइन्छ ।

 

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण अर्थात् निधन वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।

 

बौद्ध धर्मावलम्बीले बुद्धलाई भगवानको रुपमा पुज्ने गर्दछन् । बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गर्दछन् । यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरिएको छ ।

 

इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६८ वर्षअघि रुपन्देहीको .लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको सन्तानको रुपमा वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमारका रुपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका अनौं दुःख देखेर चिन्तित भई २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किएको बताइन्छ ।

बुद्धजयन्तीको अवसरमा बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले सबैलाई आह्वान गरेको छ।

आज बुद्ध जयन्ती र उँभौली पर्व एकै दिन परेको छ । सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

गोरखापत्र अनलाइनका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २५६८ औँ बुद्ध जयन्ती एवम् लुम्बिनी दिवसका अवसरमा लुम्बिनी क्षेत्रको अवलोकन गर्नुका साथै स्थानीयसँग अन्तर्क्रिया गर्नुभएको छ । बुद्ध जयन्तीका अवसरमा आयोजना गरिने कार्यक्रममा सहभागी हुन बुधवार लुम्बिनी आउनुभएका प्रधानमन्त्रीले आज बिहान लुम्बिनी परिसरको अवलोकन गर्नुभएको हो । उहाँले योग र ध्यानका लागि लुम्बिनी आउनुभएका धर्मगुरु, स्वदेशी एवम् विदेशी बौद्ध मार्गीहरूसँग अन्तर्क्रिया समेत गर्नुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध जन्मभूमिलाई विश्व शान्ति र धार्मिक पर्यटक गन्तव्यका रूपमा विकास गर्न क्रियाशील रहेको बताउनुभयो।

 

प्रधानमन्त्री प्रचण्डले संसारभरिका करोडौँ बौद्ध समुदाय एवं आम मानिसले समेत जीवनमा एक-पटक दर्शन अवलोकन गर्नुपर्ने पवित्र तीर्थस्थलको विकासमा सरकार लागिपरेको बताउनुभयो। उहाँले भन्नुभयो, “वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकसित गर्न क्रियाशील छ।’

नेपालले आयोजना गरेको तेस्रो लगानी सम्मेलनमा बृहत्तर लुम्बिनी विकास परियोजनासम्बन्धी प्रस्ताव प्रस्तुत भई वैदेशिक लगानीका लागि विश्व समुदायलाई आव्हान गरिएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले यसले विश्वभरिका बौद्ध धर्मावलम्बीहरूलाई आकर्षण गरी धार्मिक पर्यटन एवं विश्व शान्तिमा गौतम बुद्ध र नेपालको योगदान प्रवर्द्धन हुने विश्वास व्यक्त गर्नुभयो । “बुद्धको जन्मभूमि लुम्बिनीको भ्रमण गर्न पाउनु विश्वका प्रत्येक नागरिकका लागि गौरवको विषय हुन्छ” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “लुम्बिनीलाई विश्वभरिका बुद्धिस्टहरूको ‘बर्थिङ सेन्टर’ का रूपमा विकास गर्ने र त्यसमार्फत यस क्षेत्र र सिङ्गो देशको पर्यटन प्रवर्द्धनमा उच्च सफलता हासिल गर्ने सम्भावना छ ।” उहाँले शाक्यमुनि गौतम बुद्ध शील, समाधि र प्रज्ञाका प्रतिमूर्ति एवं शान्ति, एकता र सद्भावका सामूहिक प्रतीक भएको बताउनुभयो ।