चीनको क्वाङ्चौ सहरमा नेपालको पर्यटन प्रवर्द्धन
2024-05-24 16:13:08cri
Share with:

चीनको क्वाङ्चौमा नेपालको पर्यटन प्रवर्द्धनबारे छलफल भएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले निजी क्षेत्रका सातवटा पर्यटन तथा हस्पिटालिटी व्यवसायीहरूसहित १६ देखि १८ मेसम्म चीनको क्वाङ्चौमा नेपालको प्रचारप्रसार गरेका छन्।

 

३२औं क्वाङ्चौ इन्टरनेसनल ट्राभल फेयर (जीआईटीएफ) मा नेपालले सक्रिय सहभागिता जनाएको पाटा नेपालले जनाएको छ। ३० हजार स्क्वायर मिटर क्षेत्रमा आयोजित उक्त ब्यापार मेलामा चीन र अन्य अन्तर्राष्ट्रिय देशहरूबाट ४० हजारभन्दा बढी सहभागी थिए।

 

नेपाल पर्यटन बोर्डले १६ मेका दिन स्थानीय अपरेटर तथा सहभागी माझ नेपालको पर्यटन गन्तव्यबारे प्रस्तुति दिएको थियो । सोही दिन साँझ आयोजित ‘बायर्स नाइट’कार्यक्रममा पाटा नेपाल च्याप्टरले चाइना आउटबाउन्ड रिसर्च इन्टिच्युटबाट पर्यटन प्रवर्द्धनका लागि समग्र भूमिका शीर्षक अन्तर्गत गोल्ड अवार्ड र जीआईटीएफ आयोजकबाट ‘द बेस्ट पार्टनर अवार्ड’ प्राप्त गरेको छ ।

 

सोही अवसरमा नेपाल पर्यटन बोर्डले ‘मोस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड’ र जुगल होलिडेजले ‘प्रोडक्ट इन्नोभेसन’ शीर्षकमा गोल्ड अवार्ड प्राप्त गरे ।

 

१७ मेमा आयोजित जीआईटीएफ २०२४ कन्फ्रेन्समा पाटा नेपाल कार्यसमिति सदस्य लाक्पाफुटी शेर्पा, पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेशसिंह बुडाल र पर्यटन बोर्डका अधिकृत कुन्दन शर्माले ‘जलवायु परिवर्तनको परिप्रेक्षमा चिनियाँ पर्यटकका लागि नेपालले प्रदान गर्ने दिगो पर्यटन उपजहरू’ शीर्षक अन्तर्गत समूहगत छलफलमा आमन्त्रित वक्ताको रुपमा सहभागिता जनाएको अनलाइनखबरले लेखेको छ।