बेइजिङमा २५६८औँ बुद्ध जयन्तीको अवसरमा एक समारोह आयोजित
2024-05-24 08:00:03CRI
Share with:

२५६८औँ बुद्ध जयन्तीको अवसरमा मे २३ तारिख बेइजिङस्थित चीनका लागि नेपाली राजदूतावासमा एक समारोहको आयोजना गरिएको छ। चीनमा बस्दैआएका नेपाली तथा चिनियाँ बौद्ध धर्मावलम्बी र शुभेच्छुक बीच दूतावासमा प्रार्थना कार्यक्रम, ध्यान तथा योग कार्यक्रमको समेत आयोजना गरिएको थियो।

सो अवसरमा चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठले बुद्धको महिमा, बुद्ध सन्देशको महत्त्व बारे चर्चा गर्दै आफ्नो सम्बोधनमा इतिहासदेखि नै नेपाल र चीनलाई नजिक ल्याउन बौद्ध धर्मको महत्त्वपूर्ण भूमिका भएको व्यक्त गर्नुभयो। दुई देश बीचले पछ्याउँदैआएको पञ्चशील सिद्धान्त पनि बौद्ध आध्यात्मिकता भएको औँल्याउनुभयो।

कार्य्रकममा चीनको बौद्ध धर्म समितिका उपाध्यक्ष तथा लिङक्वाङ मन्दिरका महन्त समादरणीय छाङ चाङले चीन र नेपाल असल छिमेकी मुलुक भएको बताउँदै दुई देशका जनताबीच निकै घनिष्ठ सम्बन्ध रहेको र दुई देशको बौद्ध धर्म वर्गबीच पनि निकै गहिरो मित्रता रहेको बताउनुभयो। चीन र नेपालका बौद्ध धर्म क्षेत्रबीच अरू धेरै आदान-प्रदान र सहयोगलाई बढाएर दुई देशका जनता र समस्त मानवजातिको शान्ति र हितकालागि सक्रिय योगदान गरिने अपेक्षा रहेको पनि उहाँले व्यक्त गर्नुभयो।

मङ्गोलियाका राजदूत तथा विभिन्न देशका दूतावासका तर्फबाट कुटनीतिज्ञहरूको उपस्थिति रहेको सो समारोहमा सयभन्दा बढीको सहभागिता थियो। भिक्षुहरूले मन्त्रोच्चारण गर्दै बुद्ध पूजा गरेका थिए भने योग कार्यक्रमको पनि आयोजना गरिएको थियो। दूतावास परिसरमा बुद्धका चित्रहरू पनि प्रदर्शन गरिएको थियो।

बुद्ध वाणी र सन्देशलाई अनुसरण गर्दै हामी सबै अगाडि बढ्नसकौँ। 

बेइजिङबाट अजय अलौकिक