सगरमाथा आरोहीलाई पर्यटन प्रवर्द्धक नियुक्त गरिँदै
2024-05-25 16:48:12cri
Share with:

सरकारले सगरमाथा दिवसको अवसर पारेर सगरमाथाको सफल आरोहण गर्ने आरोहीलाई पर्यटक प्रवर्द्धक नियुक्त गर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सूचना प्रकाशित गर्दै यसबारे जानकारी गराएको छ ।

 

अनलाइनखबरका अनुसार ७१औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस (२९ मे) का दिन आरोहीहरूलाई पर्यटक प्रवर्द्धक नियुक्त गर्ने तयारी गरिएको हो ।

 

पर्यटन प्रवर्द्धकसम्बन्धी कार्यविधि-२०७९ अनुसार १५ फागुन २०८० का दिन नियुक्त भएका देश/प्रान्त/सहरमा बाहेक अन्य स्थानमा पर्यटन प्रवर्द्धक नियुक्त गरिने समेत मन्त्रालयले जनाएको छ । मन्त्रालयले सर्त तोक्दै सो सर्त पूरा भएका आरोहीबाट आवेदन समेत मागेको छ ।

 

मन्त्रालयका अनुसार २१ वर्ष पूरा भएको नेपाली वा गैरआवासीय नेपाली र विदेशी नागरिकले समेत यसका लागि आवेदन दिन सक्ने छन्। पर्यटनसम्बन्धी व्यापार, पेसामा कम्तीमा ७ वर्षदेखि आवद्ध भएर ख्याती प्राप्त गरेको हुनुपर्ने समेत सर्त राखिएको छ ।

 

नैतिक पतन हुने गरी फौजदारी अभियोगमा सजाय नपाएको र कुनै देशमा शरणार्थीको रुपमा नरहेको हुनुपर्ने समेत विभागले जनाएको छ।